काठमाण्डौं। परराष्ट्र मन्त्रालयलले प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओली भदौ १४ देखि १८ सम्म चीन भ्रमण गर्ने तालिका सार्वजनिक गरेको छ।
मन्त्रालयले विज्ञप्ति जारी गरेर आगामी शनिबार प्रधानमन्त्री ओली चीन जाने जानकारी दिएको छ ।


चिनियाँ राष्ट्रपति सी चिनफिङको निमन्त्रणमा उनी बुधबारसम्म चीनमा रहेछन् । त्यहाँ उनी सांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा भाग लिनेछन् ।
एससीओ सम्मेलन १५ र १६ भदौमा उत्तरी चीनको तियान्जिनमा आयोजना हुँदैछ । त्यसको उद्घाटन चिनियाँ राष्ट्रपति सीले गर्दैछन् भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित अन्य मुलुकका सरकार तथा राष्ट्रप्रमुख समेत उपस्थित हुनेछन् ।
मन्त्रालयका अनुसार, त्यसक्रममा ओलीले चिनियाँ राष्ट्रपति सीसँग अलग्गै भेटवार्ता समेत गर्नेछन् भने १७ भदौमा उनले तिआन्जिनमा आयोजना हुने एससीओ प्लस शिखर सम्मेलनलाई सम्बोधन समेत गर्नेछन् ।
त्यसक्रममा उनले विभिन्न मुलुकका नेताहरूसँग समेत भेटवार्ता गर्ने कार्यक्रममा छ । सोही क्रममा उनले चीनका उपराष्ट्रपति हान झेङसँग समेत भेटवार्ता गर्ने छन् ।
त्यसक्रममा प्रधानमन्त्री ओली जापानी आक्रमणविरुद्ध चीनको प्रतिरोध युद्ध र विश्वव्यापी फासिवादविरोधी युद्धमा विजय प्राप्तिको ८० औं वार्षिकोत्सव कार्यक्रममा समेत सहभागी हुने भनिएको छ ।
भ्रमण टोलीमा शिक्षामन्त्री रघुजी पन्त, पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डे, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा. युवराज खतिवडा, सांसद् छविलाल विश्वकर्मासहितका उच्च अधिकृतहरू समेत रहेनछन् ।
चीनबाट फर्किएलगत्तै प्रधानमन्त्री ओली भारत भ्रमणमा जाने तयारी छ ।











