पूर्ण सार्की/डोल्पा: स्याउको हब मानिने हिमाली जिल्ला डोल्पाबाट मात्रै यो बर्ष ४ सय मेट्रिक स्याउ निर्यात भै करोडौं रुपैयाँ आम्दानी भएको छ।
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन इकाई कार्यालय डोल्पाले आर्थिक वर्ष २०८२/८३ को सार्वजनिक सुनुवाइ तथा कार्यक्रम सार्वजनिकीकरण गर्ने क्रममा उक्त जानकारी सार्बजनिक गरेको हो।



कार्यालयबाट स्याउ निर्यातका लागि ढुवानी ५० प्रतिशत अनुदान सहयोगमा डोल्पाबाट विकशित शहरहरू जाजरकोट, सल्यान, दाङ, पोखरा, काठमाण्डौमा ४०० मेट्रिक टन स्याउ निर्यात भै करोडौं रुपैयाँ जिल्लामा भित्रिएको कार्यालयले जानकारी दिएको छ।

बिहिबार जिल्ला समन्वय समिति डोल्पाको सभाहलमा कार्यक्रमका निमित्त कार्यालय प्रमुख गोविन्द मल्लको सभाध्यक्षता र जिल्ला प्रशासन कार्यालय डोल्पाका सहायक प्रमुख जिल्ला अधिकारी रमेश पौडेलको प्रमुख अतिथिमा कार्यालयले आर्थिक वर्ष २०८२/८३ का लागि कार्यालयले गर्ने कार्ययोजना सार्वजनिकिकरण तथा सार्वजनिक सुनुवाई सम्पन्न गरेको हो।

कार्यालयले योे आर्थिक वर्षमा पूँजीगत तर्फ रू. २५ लाख ९३ हजार र चालू तर्फ रू. ३ करोड ३४ लाख ६५ हजार गरि कुल रू. ३ करोड ६० लाख ५७ हजार विभिन्न कार्यक्रममा खर्च हुने सार्वजनिकीकरण गरेको छ।
कार्यालयले कार्यक्रम मार्फत यो वर्ष स्याउ, ओखर, दलहन/सिमी, भेडा–बाख्रा, आलुमा जोन बनाई काम गर्ने छ। कार्यालयले विशेष गरी डोल्पामा स्याउ जोन र सिमी जोन गरी दुई जोनमा विभाजित गरेर काम गरिरहेको कार्यालयका निमित्त प्रमुख मल्लले जानकारी दिए।

उनका अनुसार कार्यालयले त्रिपुरासुन्दरीका ३, ४, ठूलीभेरीका ११ र जगदुल्ला गाउँपालिकाका सबै वडामा स्याउ जोन र काइकेका ७ र मुड्केचुलाका ६ वडामा सिमी जोन कार्यक्षेत्र बनाई काम गरिरहेको छ।
कार्यालयका अनुसार यो वर्ष डोल्पा बाट ४०० मेट्रिक टन स्याउ निर्यात भै करिब रू. २ करोड २० लाख रुपैयाँ जिल्लामा भित्रिएको छ। डोल्पाको स्याउ उत्पादनको उत्पादकत्व राष्ट्रिय उत्पादकत्वभन्दा उच्च रहेको सार्वजनिकीकरण गर्दै जिल्लाकाे काइके गाउँपालिकामा सिमी उत्पादन मुड्केचुलाभन्दा बढी भएको कार्यालयको दाबी समेत गरेको छ।
कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा ५० हेक्टरमा स्याउ विस्तार, १ हेक्टरमा उच्च घनत्वको फुजी जात रोपाइ, बजार अभावका कारण खेर जाने स्याउ जिल्लाबाहिर निर्यातमा सहयोग, ओखरमा डोल्पा आत्मनिर्भर, जिल्लामै स्याउ/ओखरका बिरुवा उत्पादन, परम्परागत बगैँचा प्रविधियुक्त रूपमा सुधार, प्राङ्गारिक मल, बर्मी कम्पोस्ट प्रवर्द्धन, माटो परीक्षण र डिजिटल सोइल म्याप अद्यावधिक, ७५ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा विस्तार, रैथाने जात/बालीको बजारीकरण सहयोग, मेला–महोत्सवमा सहभागिता, ब्रान्डिङ र प्याकेजिङमा रहेर मुख्य कामहरु गर्ने समेत सार्वजनिकीकरण समेत गरेको छ।
सार्वजनिक सुनुवाई तथा सार्वजनिकीकरण कार्यक्रममा ठुली भेरी १ का कृषक दसरथ रोकायले प्राङ्गारिक विषादीबारे चेतना अभावका वर्षेनी बिरुवा सुक्ने गरेको बताएको छन। उनले कृषकका खेतबारीमा सम्बन्धित विषयवस्तुमा दक्ष प्राविधिक नखटिने गुनासो गर्दै वास्तविक कृषक पहिचान गरी सहयोग पुर्याउनुपर्नेमा जोड दिए।
कार्यक्रम कार्यान्वयन एकाई संग समन्वय गरेर कार्यक्रमलाई प्रभावकारी बनाउने डिभिजन बन कार्यालय डोल्पाका बन अधिकृत कमल अधिकारीले बताए। उनले भने’ वन कार्यालयले पनि प्रत्येक वर्ष हजारौँ बिरुवा उत्पादन गर्ने लक्ष्य राखी ओखर वितरणमा वन कार्यालय पनि सक्रिय रहेको छ ‘ ।
कार्यक्रममा बगैँचा संरक्षणमा चुनौती रहेको बताउँदै स्याउ जोनका अध्यक्ष धनबहादुर डाँगीले डोल्पा कृषिमा सम्भावनाको खानी सगै यार्सागुम्बा मात्र होइन, फलफूल हब बनाउन सम्भव रहेको बताए।
नागरिक समाज डोल्पाका अध्यक्ष शेर बहादुर बुढाले कार्यक्रम कार्यान्वयन एकाईलाई सिर्फ ठूलीभेरी वरिपरि मात्र नभई सबै पालिका प्राथमिकतामा पर्नुपर्ने र टार्गेट अनुसार काम गर्न आग्रह गरे।
कार्यक्रममा बोल्दै नेकपा एमाले जिल्ला पार्टीका अध्यक्ष लंक रोकायले कार्यालयको काम अन्य कार्यालय भन्दा सन्तोषजनक रहेको बताउँदै नतिजामुखी काम गर्न नसक्ने कार्यालयको आलोचना समेत गरे।
डोल्पामा असली कृषककाे पहिचान गरी लगानी आवश्यक रहेको बताउँदै नेपाली कांग्रेस जिल्ला सचिव हिक्मत कुमार शाहीले जिल्ला स्थित कृषि सम्बन्धित कार्यालयहरूले आफ्नो जिम्मेवारी अनुसार काम गरी डोल्पालाई कृषिकाे हब बनाउन सुझाव दिए।
सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले उत्पादनको ब्रान्डिङले आम्दानी दोब्बर हुने बताउँदै जिल्ला स्थित कार्यालयहरूलाई ‘राम्रो गर्न सके राम्रो, नसके नराम्रो नगर्नुहोस्’ भन्दै सुझाव व्यक्त गरे।
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम , कार्यक्रम कार्यान्वयन एकाई डोल्पाका निमित्त कार्यालय प्रमुख मल्लले कार्यक्रममा उठेका प्रश्नहरुको जवाफ दिँदै उठेका सबै सुझावलाई प्राथमिकतामा राखेर काम गर्ने बताउँदै कार्यालय सञ्चालन भए देखिका लाभान्वितहरुको विस्तृत विवरण सार्वजनिक गर्ने समेत प्रष्ट पारे। उनले सर्वपक्षीय सुझावसहित आगामी वर्षका कार्यक्रमहरूलाई अझ प्रभावकारी बनाइने प्रतिवद्धता समेत व्यक्त गरे ।
डोल्पामा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमले जिल्लालाई कृषिमुखी विकास, उत्पादन अभिवृद्धि र बजार व्यवस्थापनमा महत्वपूर्ण भूमिका रहेको छ।











