सल्यान: सल्यानमा अवैधानिक रुपमा संचालन भइरहेका ४ जीप नियन्त्रणमा लगिएको छ।
जिल्ला प्रहरी कार्यालय सल्यानले जिल्ला भित्र अवैधानिक रुपमा सञ्चालन भैरहेका ४ वटा साना जिप गाडी नियन्त्रणमा लिएको सल्यानका प्रहरी नायब उपरीक्षक डा. हेम केसीले जानकारी दिए।


जिल्ला प्रहरी कार्यालय सल्यानले बुधबार पत्रकार सम्मेलन गर्दै सल्यानका भित्री सडकहरुमा सञ्चालन हुँदै आएका गाडीमा नम्बर प्लेट, इन्जिन नम्बर र च्यासिस नम्बर बिलबुकमा उल्लेखित विवरणसँग नमिलेपछि प्रहरीले ती साना जीप नियन्त्रणमा लिएको जानकारी दिएको हो ।
प्रहरीका अनुसार शारदा नगरापालिका १ श्रीनगर–रुकुमचोक स्थित सल्यान रुकुमको पक्की सडकखण्डमा नम्बर फरक देखिने गाडी चलेका छन् भन्ने सूचनाका आधारमा चेकजाँच गरिएको थियो । चेकजाँचका क्रममा केही गाडीमा इन्जिन र च्यासिस नम्बर डिलिट गरिएको, केहीमा नम्बर प्लेटमा अंक मिलान नभएको, केहीमा बिलबुकमा भएको नम्बर र गाडीमा भेटिएको नम्बर पूर्ण रूपमा फरक रहेको भेटिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रवत्ता प्रहरी निरिक्षक पुर्ण केसीले जानकारी दिए ।
उनका अनुसार नियन्त्रणमा लिइएका गाडीमा नम्बर नमिलेको , बिलबुकमा रहेको विवरण फरक देखिएका कारण ती गाडी शंकास्पद अवस्थामा देखिएको र थप अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो ।
उक्त गाडीहरु अवैध रूपमा भित्र्याइएका, चोरी भएका वा नम्बर हेरफेर गरेर चलाइएका हुन सक्ने आशंकामा नियन्त्रणमा लिएको हो। नियन्त्रण पछि उक्त सवारीसाधनहरु राजश्व अनुसन्धान विभाग, कोहलपुल पठाउने तयारी भैरहेको छ । नम्बर हेरफेर, चोरी वा अवैध रुपमा ल्याइएको भए नभएको विषयमा विभाग मार्फत थप अनुसन्धान हुने प्रहरीले जनाएको छ । नियन्त्रणमा रहेका गाडी १० बर्ष देखि १८ बर्ष सम्म पुराना रहेको पाइएको छ ।











