काठमाडौँ । सरकारले अबदेखि कर्मचारीहरूलाई प्रत्येक १५ दिनमा तलबभत्ता उपलब्ध गराउने निर्णय गरेको छ। अर्थ मन्त्रालयले गत शुक्रबार मन्त्रीस्तरीय निर्णय गर्दै महालेखा नियन्त्रक कार्यालयलाई कार्यान्वयनका लागि परिपत्र पठाइसकेको छ।
महालेखा नियन्त्रक शोभाकान्त पौडेलका अनुसार मन्त्रालयबाट परिपत्र प्राप्त भइसकेको छ र उक्त निर्णय छिट्टै कार्यान्वयनमा जानेछ। “अर्थ मन्त्रालयबाट परिपत्र आइसकेको छ, अब यो चाँडै कार्यान्वयन हुन्छ,” उनले बताए।


मन्त्रालयका अनुसार कर्मचारीले समयमै तलबभत्ता पाउँदा उनीहरूको आर्थिक व्यवस्थापन सहज हुने र समग्र अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
यस निर्णयसँगै अब सरकारी कर्मचारीहरूले मासिक होइन, प्रत्येक १५ दिनको अन्तरालमा तलबभत्ता प्राप्त गर्ने व्यवस्था लागू हुने भएको छ।












