सोमबार , बैसाख ७, २०८३

डोल्पा । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका मा मोटरबाटो स्तरोन्नति योजनामा भएको भ्रष्टाचार प्रकरणमा संलग्न ठहर गर्दै विशेष अदालतले तीन जनालाई दुई वर्ष कैद सजाय सुनाएको छ।

विशेष अदालत काठमाडौंका न्यायाधीशहरू सुदर्शनदेव भट्ट, हेमन्त रावल र उमेश कोइरालाको इजलासले सोमबार सजाय निर्धारण गरेको हो।

अदालतका अनुसार तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लालप्रसाद पोखरेल र इन्जिनियर कर्णबहादुर कार्कीलाई जनही २ वर्ष कैद र १० लाख ८१ हजार ९५० रुपैयाँ १८ पैसा जरिवाना हुने ठहर गरिएको छ। साथै, सडक निर्माणको जिम्मा पाएको दिव्या निर्माण सेवा प्रालिका प्रोप्राइटर भीमराज न्यौपानेलाई पनि समान सजाय तोकिएको छ।

अदालतले प्रतिवादीहरूबाट बिगो रकम असुल गरी नगरपालिकाको कोषमा दाखिला गर्न आदेश दिएको छ। साथै, अपराध पीडित संरक्षण ऐन, २०७५ अनुसार जनही ४३ हजार २७८ रुपैयाँ क्षतिपूर्ति शुल्क पीडित राहत कोषमा जम्मा गर्नुपर्ने निर्णय गरिएको छ।

अदालतले ठेक्का प्रक्रिया औपचारिकतामा सीमित राखी मिलेमतोमा निर्माण कम्पनीलाई काम दिइएको र ५५ लाख ८९ हजार ६३ रुपैयाँ बराबरको गैरकानुनी लाभ लिइ संस्थालाई हानि पुर्‍याउने बदनियत देखिएको ठहर गरेको छ।

यस प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत कार्तिक २४ गते त्रिपुरासुन्दरी नगरपालिका–५ खदाङदेखि ल्हाँसम्मको मोटरबाटो स्तरोन्नति कार्यमा अनियमितता भएको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो। आयोगले उक्त मुद्दामा जनही ५५ लाख ८९ हजार ६३ रुपैयाँ ६ पैसा बिगो दाबी गर्दै विभिन्न पदाधिकारी र कर्मचारीसहित आरोपपत्र दायर गरेको थियो।

तर, आरोपपत्रमा समावेश अन्य प्रतिवादी—तत्कालीन प्रशासकीय अधिकृत हिराचन्द्र धराला, शिक्षा अधिकृत भीमबहादुर थापा, वरिष्ठ लेखा सहायक रूपचन्द्र बुढा, एमआइएस अपरेटर हरिचन्द्र विष्ट तथा बोलपत्र मूल्याङ्कन समितिका सदस्य शिशिरकुमार गुरुङलगायतलाई भने अदालतले सफाइ दिएको छ।

त्रिपुरासुन्दरी नगरपालिकाअन्तर्गत आर्थिक वर्ष २०७८/७९ मा वडा नं. ५ को खदाङदेखि ल्हाँसम्मको मोटरबाटो स्तरोन्नति कार्यमा ठेक्का प्रक्रियामा मिलेमतो गरी आर्थिक अनियमितता गरिएको अदालतले ठहर गरेको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पाका सांसद बुढाले गरे आफूले पाउने सेवा–सुविधा समाजसेवामा खर्च गर्ने प्रतिबद्धता

सांसद बुढाद्वारा डोल्पाको साझा विकासका एजेन्डा तय गर्न सर्वदलीय छलफल आह्वान 

प्रधानमन्त्री बालेनसमक्ष डोल्पाका सांसद धन बहादूर बुढाको १५ बुँदे माग, के के छन् माग? 

डोल्पा सडक अनियमितता प्रकरण: विशेष अदालतद्वारा ३ जना दोषी ठहर, अन्यलाई सफाइ

सांसद बुढाद्वारा डोल्पाका विभिन्न ठाउँमा टेलिकमको फोरजी सेवा विस्तार सहित टावर स्तरवृद्धिको माग

प्रधानमन्त्री बालेन शाहलाई डा. अबुल हुसेन अन्सारीको खुला पत्र


TOP