पूर्ण सार्की/ डोल्पा । हिमाली जिल्ला डोल्पाबाट पञ्चकोशी दर्शनको लागि तीर्थयात्रामा निस्किएका एक तीर्थालुको दैलेखमा डुबेर मृत्यु भएको छ ।
डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-७ भोरगाउँका ५० वर्षीय लाल बहादुर केसीको दैलेखको दुल्लु नगरपालिका-११ स्थित कोटिला धार्मिक क्षेत्रको छामघाट खोलामा नुहाउने क्रममा बुधबार दिउँसो डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले रंगिन पाटीलाई जानकारी दिएको छ।


जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार मृतक केसी पञ्चकोशी दर्शन गर्ने उद्देश्यले गाउँका छिमेकीहरूसहित दैलेख पुगेका थिए ।
घटनापछि मृतकको शवलाई छिमेकीसँगै पोष्टमार्टमको लागि डोल्पा पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।










