डोल्पा । हिमाली जिल्ला डोल्पाको खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालयले १०१ योजना कार्यान्वयनमा ल्याएको छ ।
चालु आर्थिक वर्ष २०८२/८३ मा कार्यालय अन्तर्गत रहेका १०६ मध्य १०१ योजना कार्यान्वयनमा ल्याएको खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालयले जानकारी दिएको छ ।


कार्यालयमा अनुसार चालु आर्थिक वर्षमा रहेका कुल योजनाको ९६.२८ प्रतिशत योजना कार्यान्वयनमा ल्याईएको हो भने बाँकी योजना कार्यान्वयनमा ल्याउन बाँकी छ ।
कर्णाली प्रदेश सरकारको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले प्रदेशभर चालु आर्थिक वर्षमा विनियोजन गरिएका १ हजार ३ सय ७६ योजनामध्ये झण्डै ९०.२६ प्रतिशत योजना कार्यान्वयनमा ल्याएको जानकारी दिएको छ।
त्यसमध्ये १३९ वटा योजना सम्पन्न भइसकेका छन् भने १३४ वटा योजना कार्यान्वयनकै चरणमा छन्। यद्यपि ५६ वटा योजना विभिन्न कारणले कार्यान्वयन हुन सकेका छैनन्।
१० जिल्ला रहेको प्रदेशमा जिल्लागत रूपमा हेर्दा सुर्खेतमा १७७ मध्ये १६८, सल्यानमा ७९ मध्ये ७४, दैलेखमा १८३ मध्ये १७४, कालिकोटमा १५९ मध्ये १५३, जुम्लामा १०४ मध्ये ९७ र मुगुमा ९४ मध्ये ८४ योजना कार्यान्वयन भएका छन्।
यस्तै रुकुम पश्चिममा १४३ मध्ये १२०, जाजरकोटमा ११३ मध्ये १०२, हुम्लामा २२२ मध्ये २०० योजना कार्यान्वयन भएको मन्त्रालयले जनाएको छ।
आर्थिक वर्ष २०८२/८३ मा मन्त्रालयका लागि ३ अर्ब ८३ करोड ३ लाख रुपैयाँ बजेट विनियोजन भएकोमा हालसम्म ९४ करोड २४ लाख रुपैयाँ मात्र खर्च भएको छ। यसमध्ये चालुतर्फ ५३.३ प्रतिशत र पुँजीगततर्फ २२.४१ प्रतिशत खर्च भई समग्रमा २४.६० प्रतिशत बजेट कार्यान्वयन भएको मन्त्रालयका सूचना अधिकारी ई. सागर आचार्यले जानकारी दिए ।
जलस्रोत तथा ऊर्जा विकास मन्त्री बिजया बुढाले अधिकांश योजना सन्तोषजनक रूपमा अघि बढेको उल्लेख गर्दै बाँकी योजनालाई शीघ्र सम्पन्न गर्न निर्देशन दिएको बताएकी छन् । साथै उनले कार्यान्वयनको गति मात्र होइन, गुणस्तरमा समेत विशेष ध्यान दिनुपर्नेमा जोड दिइन् ।











