डोल्पा । कुनै समय डोल्पाको मुड्केचुला गाउँपालिकाको केन्द्र नर्कु पुग्न दिनौँ पैदल हिँड्नुपर्ने अवस्था थियो।
नर्कु मात्रै होइन मुड्केचुलाका अधिकांश गाउँदेखि जिल्लाको सदरमुकाम दुनैसम्म पुग्न निकै कठिन यात्रा गर्नुपर्थ्यो र स्थानीयको दैनिकी निकै कष्टकर थियो। देश संघीयता लागु भएसँगै अहिले मुड्केचुलाको अवस्था फेरिएको छ।


‘हिजोको र आजको मुड्केचुलालाई तुलना गर्ने हो भने आधारभूत विकासका धेरै सूचकमा सुधार देखिन्छ’
गाउँसम्म सडक पुगेपछि मोटरसाइकल, जीप र ट्याक्टर सहजै सञ्चालन हुन थालेका छन्। यसले मुड्केचुलाबासीको दैनिक जीवन धेरै सहज बनाएको छ।
‘सडक सञ्जालमा जोडिएपछि सामान ल्याउन र बिरामी बोक्न सजिलो भएको छ, पहिला दिनहुँ हिँड्नु पर्थ्यो ।’
अहिले सडक पुगेपछि दैनिक उपभोग्य वस्तु तथा निर्माण सामग्री ढुवानी पनि सहज भएको छ। जसका कारण सामान सस्तो पाइन थालेको छ र घर निर्माण तथा मर्मत गर्न पनि सजिलो भएको छ। सडक सञ्जालले आंशिक रूपमा जोडिएसँगै अहिले मुड्केचुला माबजारीकरणको हावाले छुन थालेको छ ।
स्थानीय भिमबहादुर बोहराले पहिलेको तुलनामा अहिले जीवन निकै सहज भएको बताए । उनले भने ‘ सडक सञ्जालमा जोडिएपछि सामान ल्याउन र बिरामी बोक्न सजिलो भएको छ, पहिला दिनहुँ हिँड्नु पर्थ्यो ।’
यद्यपि, सडक विस्तार भएपनि रुकुमपश्चिम र डोल्पाको सिमाना त्रिवेणीदेखि नर्कुसम्मको सडकखण्डमा पुल अभाव अझै समस्या बनेको छ। वर्षायाममा खोलानाला बढ्दा यातायात अवरुद्ध हुने गरेको छ।
‘गाउँबस्ती विकासको लागि अत्यावश्यक भनेको नै सडक हो, यही सडकले पूर्णता पाए अझै मुड्केचुलाको मुहार फेरिने थ्यो।’
हाल मुड्केचुलाको खर्क र इल क्षेत्रमा बेलिब्रिज निर्माण अन्तिम चरणमा पुगेको छ भने खाद्दुमा पुलका संरचना तयार भइसकेका छन्। निर्माणाधीन जगदुल्ला हाइड्रोपावरको पहलमा पुल निर्माण कार्य तीव्र रूपमा अघि बढिरहेको छ।
स्थानीय भक्तबहादुर थापाले सडक र बिजुली पुगेपछि अन्य विकास आफैँ हुने विश्वास गरेको बताए । उनले भने ‘गाउँबस्ती विकासको लागि अत्यावश्यक भनेको नै सडक हो, यही सडकले पूर्णता पाए अझै मुड्केचुलाको मुहार फेरिने थ्यो।’
मुड्केचुला गाउँपालिकाका अध्यक्ष दत्त बहादुर शाहीले पछिल्ला वर्षमा पूर्वाधार, शिक्षा र सेवा प्रवाहमा सुधार आएको बताए। उनका अनुसार सबै वडामा सडक विस्तार गरिएको छ र सेवा प्रवाहलाई सहज बनाइएको छ। पालिकाको केन्द्र नर्कुदेखि सर्मी जोड्ने सडक पनि अब केही दिनमा जोडिने उनले बताएका छन् । ‘हिजोको र आजको मुड्केचुलालाई तुलना गर्ने हो भने आधारभूत विकासका धेरै सूचकमा सुधार देखिन्छ’ अध्यक्ष शाहीले भने।
उनका अनुसार शिक्षाक्षेत्र सुधारका लागि कार्ययोजना बनाएर विद्यालयको गुणस्तर अभिवृद्धिमा जोड दिइएको छ भने शिक्षकलाई उत्प्रेरित गर्ने कार्यक्रम सञ्चालन भइरहेका छन्। सुशासनका लागि दरबन्दीअनुसार कर्मचारी व्यवस्थापन, वडा कार्यालयलाई अधिकार प्रत्यायोजन तथा सेवाप्रवाहलाई विकेन्द्रीकृत गरिएको छ।
त्रिवेणीमा निर्माणाधीन पक्की पुल सम्पन्न भएपछि रुकुम पश्चिम, जाजरकोट र डोल्लाको तालो भाग जोडिनेछ। यसले आवागमन अझ सहज हुने छ । पूर्वाधार विकाससँगै मुड्केचुला अब दुर्गम क्षेत्र मात्र नभई विकासको सम्भावना बोकेको क्षेत्रका रूपमा अघि बढिरहेको छ।











