नेपालको माटोको उर्वराशक्ति घट्दो रुपमा छ। प्राङगारिक पदार्थ घट्दै जानु,अम्लियकरण बढ्दै जानु भु-क्षय बढ्नु तथा एकै किसिमको बालीचक्र लामो अवधिसम्म अपनाउनु, असंतुलित रासायनिक मलको प्रयोग,कम गुणस्तरका मल आदीको प्रयोगले माटोको उर्वरा शक्ति घट्दै गइरहेको छ ।
यही अवस्थालाई मध्यनजर गर्दै जिल्लाका विभिन्न ठाउँको माटो परीक्षणगरी उर्वराशक्ति र सो माटोमा खेति गर्न उपयुक्त बालीको विवरण सहितको माटो परिक्षण कार्ड कृषकलाई उपलब्ध गराउने उद्देश्यले राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यानवयन एकाइ,डोल्पा आ.व २०८२/०८३को वार्षिक स्वीकृत कार्यक्रम अनुसार माटो परिक्षण तथा माटो स्वस्थ्य व्यवस्थापन विषयमा कृषकलाई अभिमुखिकरण कार्यक्रम संचालन गरेको थियो ।


डोल्पाको भौगोलिक बनावट र हावापानी विशिष्ट रहेकाले यहाँको माटो व्यवस्थापनमा विशेष ध्यान दिनु आवश्यक देखिन्छ। डोल्पा जिल्लाहरुमा महत्वपुर्ण बाली स्याउ र सिमी जस्ता बालीका लागि माटो व्यवस्थापन निकै महत्वपुर्ण हुन्छ।
यी क्षेत्रमा माटोमा उत्पादकत्व बढाउन स्थानियस्तरमा नै प्राविधिक सेवा दिने उद्देश्यले एकिकृत प्रयोगशाला बिरेन्द्रनगर सुर्खेतको प्राविधिक सहयोगमा माटो परीक्षण शिविर कार्यक्रम कार्यान्वयन एकाइ,डोल्पाले मुड्केचुला गाउँपालिका,त्रिपुरासुन्दरी नगरपालिका,ठुलिभेरी नगरपालिका,काईके गाउँपालिकाबाट माटोको नमुना संकलन परीक्षण गरिएको थियो।
यसको मुख्य उद्देश्य माटोको उर्वराशक्ति बचाई राख्नु र दिगो कृषि उत्पादन सुनिश्चित गर्नु हो स्थानियस्तर मै माटो परीक्षण शिविर संचालन गरी माटोको स्वस्थ्य जाचँ क्षारीय सुधार र प्राङ्गारिक मलको प्रयोगलाई एकिकृत रुपमा अगाडी बढाएको छ ताकी त्यहाँको स्याउ तथा सिमी खेति दिगो र व्यावसयिक रुपमा बृद्धि होस हुनसकोस उक्त माटो शिविरबाट पि.एच पोटास,नाइट्रोजन,फस्फोरस को परीक्षण गरिएको थियो। प्राप्त नतिजा हेर्दा डोल्पाको माटो क्षारीय देखिएको छ। माटो परीक्षण पछि माटो व्यवस्थापन कृषकलाई मद्दत पुगोस भन्ने सोचले आलेख तयार गरीएको हो।
माटो परीक्षणको कम्पालेशन नतिजा 
माटो
माटो पृथ्वीको सतहको सबैभन्दा माथिल्लो तह हो, जुन चट्टानहरु खिएर वा टुक्रिएर तथा जीवजन्तु र वनस्पतिका अवशेषहरुबाट बनेको हुन्छ। कृषि पेशाको हिसावले हेर्दा माटो त्यो पदार्थ हो जसले बिरुवालाई आवश्यक पर्ने पोषक तत्व, पानी र आधार प्रदान गर्दछ। खेतिको मुख्य आधार नै माटो हो ।
बालि बिरुवा माटो नै उम्रन्छन बद्छन र आफुलाई आश्यक पर्ने खाद्यतत्व पनि माटोबाटै लिन्छन तसर्थ सफल तथा दिगो कृषि उत्पादनको लागि माटोको भौतिक,रासायिक तथा जैबिक गुणहरु धेरै महत्वहरु हुन्छन।
माटो खनिज पदार्थ, प्रांगारिक पदार्थ , हावा र पानीको मिश्रण हो। यो चट्टानहरूको क्षयीकरणबाट हजारौं वर्ष लगाएर बन्ने गर्दछ।माटोका मुख्य कार्यहरू बिरुवालाई अड्याउन र वृद्धि विकासमा सहयोग गर्ने।पानी र पोषक तत्वहरूको भण्डारण गर्ने विभिन्न सूक्ष्म जीवहरूको वासस्थानको रूपमा काम सहयोग गर्दछ। माटो रासायिक गुण माटो अम्लियपना खाद्यतत्वहरुको मात्रा तथा उपलब्धता आदी माटोको रासायिक गुणहरु हुन।
बैज्ञानिक शब्दमा भन्नुपर्दा अम्लियपना भन्नाले माटोमा हाइड्रोजन आयन को सकृयता भन्ने बुझिन्छ। माटोको अम्लियपनालाई पि.एच मानबाट व्यक्त गरिन्छ। विभिन्न बालीहरुको लागि उपयुक्त पि.एच मान फरक फरक हुन्छ तापनि पि.एच ६देखि ७ हुनु राम्रो मानिन्छ। किनकी यस पि.एचमा भएको माटोबाट बिरुवाले सबै खाद्यतत्वहरु लिन सक्छ।
माटोमा भएका क्याल्सियम, म्याग्नेसियम आदी चुहेर जानु, प्राङ्गगारिक मलको कम प्रयोग गर्नु नाइट्रोजनयुक्त रासायनिक मल खास गरेर एमोनिकल रासायनिक मल युरीया एमोनियम सल्फेट को बढी प्रयोग गर्नु आदी कारणले माटोमा अम्लियपना बढ्न जान्छ। तर क्षारिय पैतृक पदार्थबाट बनेको माटो कम पानी पर्ने हिमाली जिल्ला(डोल्पा)को माटो र घुलनशिल लवणहरु जमिनको सतहमा जम्मा भएर बसेको माटो क्षारीय हुन्छ।
धेरै अम्लिय र क्षारीय माटो खेतिको लागि राम्रो हुदैन। पि.एच मान ६ देखि ७ भएको माटो खेतिको लागि उत्तम हुन्छ। अम्लिय माटोमा क्याल्सियम,म्याग्नेसियमको कमी हुनुको साथै फस्फोरसको उपलब्धता पनि कम हुन्छ।
यसरी नै क्याल्सियम ,म्याग्नेसियम,पोटासियम बढी प्राप्त गर्न सक्दछ। अम्लियपना बढी हुदा यसरी घुलनशील यी तत्व बिरुवाकोले आवश्यकता भन्दा बढी लियो भने फलाम,तामा जस्ता र म्याङगानिज बढी घुलनशिल हुदाँ बिरुवालाई विषाक्त हुन पनि सक्छ। यस्तै गरी क्षारीय माटोमा पनि फस्फोरसको उपलब्धता कम हुन्छ भने फलाम,तामा,जस्ता र म्याङगानिक तत्वहरु अघुलनशील हुने हुदाँ बिरुवालाई प्राप्त हुदैन क्याल्सियम युक्त क्षारीय माटोमा बोरानको उपलब्धता कम हुन्छ।
बिरुवाको वृद्धि र विकासमा माटोको पि.एचको भूमिका निकै महत्वपूर्ण हुन्छ। माटोको पिएचले बिरुवाले माटोबाट पोषक तत्वहरू कत्तिको सजिलै लिन सक्छ भन्ने कुरा निर्धारण गर्दछ।माटोको पिएच मान ० देखि १४ सम्म हुन्छ ७ भन्दा कम मान भए अम्लीय माटो ७ तटस्थ माटो ७ भन्दा बढी मान क्षारीय माटो पि.एच मानका आधारमा तिन भागमा विभाजन गरिएको छ।

बिरुवाका लागि माटोको पिएचले खेल्ने मुख्य भूमिकाहरू
पोषक तत्वको उपलब्धता
यो पिएचको सबैभन्दा महत्वपूर्ण भूमिका हो। माटोमा पोषक तत्व भएर मात्र पुग्दैन, त्यो बिरुवाले सोस्न सक्ने अवस्थामा हुनुपर्छ।धेरैजसो मुख्य पोषक तत्वहरू (नाइट्रोजन, फस्फोरस, पोटासियम) ६.० देखि ७.५ पिएचको बीचमा बिरुवाले सजिलै लिन सक्छ।यदि माटो धेरै अम्लीय (पिएच ५ भन्दा कम) भएमा फस्फोरस, क्याल्सियम र म्याग्नेसियमको उपलब्धता घट्छ।यदि माटो धेरै क्षारीय (पिएच ८ भन्दा बढी) भएमा फलाम , म्यागनिज र जस्ता जस्ता सूक्ष्म तत्वहरूको कमी हुन्छ।
सूक्ष्म जीवहरूको सक्रियता
माटोमा रहेका फाइदाजनक सूक्ष्म जीवहरू (जस्तै: ब्याक्टेरिया र भाइरस) जसले प्रांगारिक पदार्थलाई कुहाएर बिरुवाका लागि खाना बनाउँछन्, उनीहरू पनि निश्चित पिएचमा मात्र सक्रिय हुन्छन्। तटस्थ वा हल्का अम्लीय माटोमा यी जीवहरू बढी सक्रिय हुन्छन् । धेरै अम्लीय माटोमा लाभदायक ब्याक्टेरियाको संख्या घट्छ, जसले गर्दा मल कुहिने प्रक्रिया ढिलो हुन्छ।
विषाक्त तत्वको प्रभाव
माटोको पिएच धेरै कम (अम्लीय) हुँदा माटोमा रहेका एल्युमिनियम र म्यागनिज जस्ता तत्वहरू पग्लिएर बिरुवाका लागि विषाक्त बन्न सक्छन्। यसले बिरुवाको जरा जलाउने वा वृद्धि रोक्ने काम गर्छ।
जराको विकास र बनावट
माटोको पिएच सन्तुलित नभएमा बिरुवाको जरा कमजोर हुन्छ। जरा कमजोर भएपछि बिरुवाले न त जमिनबाट पानी तान्न सक्छ, न त हावाहुरीमा अडिन नै सक्छ।विभिन्न बिरुवाका लागि उपयुक्त पिएच सबै बिरुवालाई एउटै पिएच आवश्यक पर्दैन, तर सामान्यतया ५.५ देखि ७.० सम्मको पिएच धेरैजसो बालीका लागि उत्तम मानिन्छ।
माटोमा नाइट्रोजनको व्यवस्थापन
नाइट्रोजनको कमि भएमा बिरुवा बढ्न सक्दैन र बिरुवाको पुरानो पातको टुप्पोबाट मध्य नसा तिर पहेलोपना देखाउछ।यो तत्व बिरुवाको लागि धेरै चाहिन्छ।
बिरुवाको विकास र हरियो पातमा यसको भुमिका ठुलो छ। माटोमा नाइट्रोजन तत्वको प्रयोग रासायनिक मल (नाइट्रोजन युक्तमल,युरिया,एमोनियम सल्फेट) र प्राङ्गारिक मलबाट गर्न सकिन्छ। प्राङ्गारिक मलको प्रयोग गर्दा गुणस्तर गोठेमल र कम्पोष्ट मलको प्रयोग गर्न पर्दछ।
बायुमण्डली नाइट्रोजन स्थिरिकृत गर्ने बालीहरुमा कोसेबाली पर्दछन्। कोसेबालीको प्रयोग बालीचक्रियबाली अनिर्याव गर्दैजानुपर्दछ। कोसेबालीलाई मिश्रित बाली,घुसुवा बाली तथा हरियो मल बालीको रुपमा प्रयोग गर्न सकिन्छ।
सुक्ष्म जीवाणुमलको प्रयोगले माटोमा नाइट्रोजन थप्न सकिन्छ। एजोटो व्याक्टिय यसको एउटा उदारण हो। नाइट्रोजन माटोमा थाप्नु मात्रै नभएर माटोमा नाइट्रोजनको प्रभावकारी प्रयोगलाई ध्यान दिनुपर्दछ। नाइट्रोजन मलको स्वभाव माटोमा परेपछि फैलिने,उड्ने,चुहुने खालको हुन्छ।
त्यसो हुदाँ रासायनिक मलबाट नाइट्रोजन प्रयोग गर्दा खण्ड-खण्ड गरी प्रयोग गर्दा बिरुवाले अधिकतम उपयोगमा ल्याउन सक्दछ।कम चुहुने डर हुन्छ। प्राङ्गागरिक मलमा बढवा दिदाँ नाइट्रोजन मात्रा नियमित उपलब्धता हुने सम्भावना हुन्छ।
माटोमा फस्फोरसको व्यवस्थापन
माटोमा फस्फोरसको कमि भएमा पातमा बैजनी रंग देखा पर्दछ र गाढा हरियोमा रातो रंग मिसिएको जस्तो देखिन्छ। जराको बिकास रोकिन्छ बढ्न र बाली तयार हुन ढीलो हुन्छ र फल र बीउको बिकासमा कमी आउँछ।
माटोमा फस्फोरसको प्रयोग नाइट्रोजन भन्दा भिन्न छ। फस्फोरस माटोमा चुहिएर खेर जादैन। यो भु-क्षयबाट नोक्सान हुने सम्भावना बढी देखिन्छ ।माटोमा फस्फोरस भएर पनि बिरुवाले पाउन नसक्ने अवस्थामा हुन सक्दछ। माटोमा पि.एचमा ६ देखि ७ को बीचमा हुन सकेमात्र फस्फोरस माटोबाट बिरुवाले सजिलै लिन सक्दछ।यो भन्दा माथी पि.एच मान बढेर जादाँ अरु तत्वले फस्फोरस लाई बाँधेर राख्दछ र माटोमा भएको फस्फोरस बिरुवाले लिन सक्दैन त्यसो हुदाँ माटोमा कृषिचुन(अम्लिय माटोमा) जिप्सम वा गन्धक(क्षारिय माटोमा) प्रयोग गरी माटोको पि.एच मान ६देखि ७ बीचमा बनाइ राख्नु पर्दछ। माटोमा जाति सक्दो प्राङ्गागरिक पदार्थको मात्रा बढाउन सके फस्फोरसको मात्रा बढ्न जान्छ। यो खनिजिकरण हुदै जादाँ बिरुवा फस्फोरस पाउदै जान्छ।असुरो,तितेपाति,कालो बनमारा,झुसेतिल ,खिर्रो जस्ता अन्य वनस्पतीहरूमा फस्फोरस तत्व बढी हुन्छ त्यसो हुदाँ यी वनस्पतिको अधिकतम प्रयोग गर्दा खाद्यतत्व मात्रामा थपिदै जन्छ।
प्राङ्गारिक स्रोतको मलबाट माटोमा फस्फोरसको मात्रा बढाउन सकिएन भने रासायनिक स्रोतका मलहरु सिंङगल,डब्वल,ट्रिपल,सुपर फस्फेट,डी.ए.पि जस्ता फस्फोरस युक्त मलको प्रयोग गर्नुपर्दछ। यो मलको प्रयोग जमिनको अन्तिम तयारीमा गर्नुपर्दछ।
माटोमा पोटासको व्यवस्थापन
पोटासको कमी भएमा डाँठ तथा काण्डहरु कमजोर हुन्छ र बिरुवा ढल्ने तथा बढ्न नसक्ने बीउमा दाना चाउरी पर्ने,रोग किराको आक्रमण बढ्ने साथै पातको किनारा तथा टुप्पो जल्नु वा झिल्सिएको आकार पातको भित्री भाग तिर बढ्दै जाने जस्ता लक्षणहरु देखिन्टन ।
माटोमा पोटास तत्वको स्वभाव नाइट्रोजन तथा फस्फोरस भन्दा भिन्न खालको हुन्छ। यो धेरै बलौटे माटोमा चुहिन्छ पनि चिनीको मात्रा(माडको मात्रा) बढी पाइने बालीहरुमा पोटासको मात्रा बढी आवश्यक पर्दछ। नेपालको माटोमा पोटास मात्रा घट्दै गएको छ ।यसको मुख्य कारण बिरुवा लगाउदै जाने माटोमा पोटासको मात्रा नथप्नेले नै यस्तो हुन गएको हो। असुरो,तितेपाती,बनमारा,पराल,खरानीहरु पनि पोटासका स्रोत हुन। यीहरुको प्रयोग बढाउदै जादाँ पोटासको साथ साथै अन्य खाद्यतत्व पनि माटोमा थप्न सकिन्छ। पोटासको मात्रा सल्फेट र म्यूरियट अफ पोटासको प्रयोग गरे माटोमा पोटासको मात्रा थप्न सकिन्छ। सतह भु-क्षयलाई घटाउनु पर्दछ। भु-क्षयले पोटासलाई क्षति गर्दछ।
डोल्पामा रहेको क्षारीय माटो सुधारका उपायाहरुः
प्रांगारिक मलको प्रयोग
गाईवस्तुको मल र घरपालुवा जनावरको मलमूत्रलाई राम्ररी कुहाएर प्रयोग गर्ने तथा माटोको उर्वराशक्ति बढाउन कोसेबालीहरू (जस्तै: सिमी, केराउ) लगाएर फूल फुल्नु अघि नै माटोमा जोति हरियोमलको रुपमा प्रयोग गर्ने।
वनस्पतिको प्रयोग: देवदार, सल्लो वा धुपी जस्ता कोणधारी रुखका पातहरू स्वभावैले अम्लीय हुन्छन्। डोल्पामा यी रुखहरू पाइने हुनाले यसको पातलाई सङ्कलन गरी कम्पोस्ट बनाएर प्रयोग गर्दा क्षारीय माटोलाई धेरै फाइदा पुग्छ।
भू-क्षय नियन्त्रण
भिरालो जमिन भएकाले पानी र हावाबाट हुने माटोको क्षय रोक्न यी विधिहरू अपनाउन सकिन्छ भिरालो पाखोलाई गह्रा बनाएर खेती गर्ने ताकि माटो बगेर जान नपाओस्।गह्राका काँधहरूमा अम्रिसो वा अन्य स्थानीय घाँस रोप्दा माटो काटिनबाट जोगिन्छ।
चिस्यान संरक्षण
डोल्पाको जलवायु सुख्खा हुने भएकाले माटोमा पानीको मात्रा जोगाइराख्नु चुनौतीपूर्ण हुन्छ। बिरुवाको फेद वरिपरि सुकेको झारपात वा परालले छापो हाल्ने। यसले माटोको चिस्यान उड्न दिँदैन र झार पनि नियन्त्रण गर्छ।आकासे पानी वा साना मूलको पानी संकलन गरी सिँचाइको व्यवस्था मिलाउने।
घ) बाली चक्र/बालीको छनोट: एउटै जमिनमा वर्षैपिच्छे एउटै बाली लगाउँदा माटोको विशेष पोषक तत्व सकिन्छ। त्यसैले अन्न बाली (जस्तै: उवा, फापर) पछि कोसेबाली (जस्तै: सिमी) लगाउने। कोसेबालीले माटोमा नाइट्रोजनको मात्रा बढाउँछ। जबसम्म माटो पूर्ण रूपमा सुधार हुँदैन, तबसम्म क्षारीयपन सहन सक्ने बालीहरू लगाउनु बुद्धिमानी हुन्छ।
अन्न: जौं क्षारीय माटोमा राम्रोसँग फल्न सक्छ।तरकारी: चुकन्दर , बन्दागोभी र तोरीले केही हदसम्म क्षारियपन सहन सक्छन्।स्याउका लागि भने माटोको पिएच ६.५ को आसपास राख्न बढी मेहेनत गर्नुपर्ने हुन्छ।
ङ) माटोको उपचार र पिएच सुधार: धेरैजसो हिमाली क्षेत्रमा माटो अम्लीय हुन सक्छ। यस्तो अवस्थामा कृषि चुनको प्रयोग गर्ने।बेलाबेलामा माटोको परीक्षण गराई कुन तत्वको कमी छ सोही अनुसार उपचार गर्ने।
च) कृषि जिप्समको प्रयोग : जिप्समले माटोको संरचना सुधार्न र सोडियमको मात्रा घटाउन मद्दत गर्छ। यसले माटोलाई खुकुलो बनाउँछ, जसले गर्दा जरा सजिलै भित्रसम्म जान सक्छ।
छ) सल्फरको प्रयोग: यदि प्राविधिक सहयोग र सामग्री उपलब्ध छ भने सल्फर सबैभन्दा छिटो काम गर्ने उपाय हो।बजारमा पाइने एलिमेन्टल सल्फर मिसाउँदा यसले ब्याक्टेरियासँग मिलेर सल्फ्युरिक एसिड बनाउँछ, जसले पिएच घटाउँछ।डोल्पामा ढुवानीको समस्या हुन सक्ने भए पनि थोरै मात्रामा यसको प्रयोगले ठूलो सुधार ल्याउन सक्छ।
निष्कर्श
तपाईंको माटो धेरै अम्लीय छ भने कृषि चुन प्रयोग गरेर सुधार गर्न सकिन्छ। यदि माटो धेरै क्षारीय छ भने सल्फर वा प्रांगारिक मलको बढी प्रयोग गरेर यसलाई सन्तुलनमा ल्याउन सकिन्छ। त्यसैले खेती गर्नुअघि माटोको पिएच परीक्षण गर्नु सधैं बुद्धिमानी हुन्छ। डोल्पामा माटोको अवस्था ठाउँ अनुसार फरक हुन सक्छ। माटो सुधार एकैपटक हुने प्रक्रिया नभई २-३ वर्षको निरन्तर प्रयास पछि मात्र स्थायी नतिजा देखिन्छ। डोल्पाको माटोलाई जोगाउनु भनेको नै त्यहाँको कृषि र जीवनस्तरलाई सुधार्नु हो। यी परम्परागत र आधुनिक विधिहरूको सम्मिश्रणले उत्पादनमा वृद्धि ल्याउन मद्दत पुग्नेछ ।

लेखक गोबिन्द मल्ल / राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ,डोल्पाका निमित्त कार्यालय प्रमुख हुन् ।











