ताजा
बाँकेको बैजनाथका विद्यालयमा सरसफाइ र वृक्षारोपण गर्दै मनाइयो वातावरण दिवस  ||    विद्यार्थी तथा युवामैत्री नीति बनाउन नेविसंघद्वारा कर्णाली प्रदेश सरकारलाई आग्रह  ||    सुर्खेतमा कर्णाली प्रदेश युवा सम्मेलन सुरु, युवाको सहभागितामार्फत विकासमा जोड  ||    कालीकोटका छोरीहरू भन्छन्, ‘आत्मविश्वासले मात्र छोरीहरूलाई आत्मनिर्भर बनाउँछ’  ||    ‘छोरीलाई दया भाव नभई अवसर चाहिएको छ’  ||    कर्णालीका दुर्गम बस्ती अझै राज्यको मूलधारबाट टाढा छन्: सोनाम भुट्टी  ||    नयाँ बजेटप्रति डोल्पाबासी छैनन् सन्तुष्टि   ||    डोल्पा, जाजरकोट र रुकुम पश्चिमबीच निरन्तर सहकार्य र समन्वय गर्ने सहमति  ||   
शुक्रबार , जेठ २२, २०८३

डोल्पा । भेरीकरिडोर अन्तर्गत रुकुम पश्चिमको त्रिवेणीदेखि डोल्पाको त्रिपुराकोटसम्म सडक कालोपत्रे गर्ने योजना सम्झौता भएको महिनौँ बितिसक्दा पनि निर्माण कार्य सुरु हुन सकेको छैन ।

करिडोरको जाजरकोट–डोल्पा सडक खण्ड ११७ किलोमिटर भित्र पर्ने जाजरकोटको तल्लुबगरसम्म कालोपत्रे निर्माण कार्य सम्पन्न भइसकेको छ । त्यसपछि तल्लुबगरदेखि डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुराकोटसम्मको सडक कालोपत्रेका लागि भेरी करिडोरले गत वर्ष दुई चरणमा ठेक्का प्रक्रिया अघि बढाएको थियो ।

तर ठेक्का प्रक्रिया अघि बढाएको महिनौंसम्म काम नै सुरु नभएपछि करिडोरले अहिले सडक निर्माणको लागि बारम्बार ताकेता गरिरहेको जानकारी दिएको छ ।

 

करिडोरको पहिलो प्याकेज अन्तर्गत तल्लुबगरदेखि रुकुम पश्चिमको त्रिवेणीसम्मको सडक कालोपत्रेका लागि क्याब कन्ट्रक्सन प्रालि, जावलाखेल ललितपुरले ८८ करोड ६२ लाख रुपैयाँमा ठेक्का हात पारेको थियो । कम्पनीले २०८२ असोज २ गते करिडोरसँग सम्झौता गरेको थियो ।

सम्झौतापछि केही समय सडक स्तरोन्नतिको काम गरे पनि अहिले निर्माण कार्य पूर्ण रूपमा रोकिएको छ । निर्माण कम्पनीका इन्जिनियर सुपेन्द्र शाक्यले पेट्रोलियम पदार्थको मूल्यवृद्धि तथा आवश्यक उपकरण ढुवानीमा समस्या भएका कारण काम रोकिएको जानकारी दिए ।

 

उनले काम सञ्चालनको लागि क्रसर मेसिन ल्याउने तयारी भइरहेको जानकारी दिँदै अब छिट्टै काम सुरु गर्ने बताए । ‘पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण काम रोकिएको हो । अब भने काम सुरु गर्छौं ‘ उनले भने ‘ सम्भावित वर्षा याममा यात्रा सहज बनाउन हाम्रो साइट भरी डोजर तयारी अवस्थामा राख्ने निर्णय गरेका छ।’

 

त्यस्तै, दोस्रो प्याकेज अन्तर्गत रुकुम पश्चिमको त्रिवेणीदेखि डोल्पाको त्रिपुराकोटसम्म सडक कालोपत्रेका लागि मैनाचुली सिस्ने जेभी, बुद्धनगर काठमाडौंले २०८२ साउन ९ गते सम्झौता गरेको थियो । तर सम्झौता भएको नौ महिना बित्दा पनि निर्माण कम्पनीले हालसम्म कुनै काम सुरु गरेको छैन ।

निर्माण कार्य अघि नबढेपछि अहिले सम्बन्धित निर्माण कम्पनीको खोजी भइरहेको जनाइएको छ ।

पूर्वमन्त्री तथा कर्णाली प्रदेश सभा सदस्य वीरबहादुर शाहीले समयमै काम सुरु नहुँदा डोल्पावासीले सास्ती खेप्नुपरेको बताए । उनले सडक विस्तार तथा कालोपत्रे कार्यलाई अगाडि बढाउन आफूले भेरी करिडोरसँग निरन्तर पहल गरिरहेको तर निर्माण व्यवसायीले काम नै सुरु नगरेको जानकारी दिए ।

‘निर्माण व्यवसायीले समयमै काम नगर्दा हरेक वर्ष डोल्पावासीले दुःख पाउने गरेका छन्,’ उनले भने ‘मैले पनि बारम्बार भनिरहेको छ तर सुनुवाइ भइरहेको छैन।’

सम्झौता भएको महिनौं बितिसक्दा समेत काम सुरु नगर्दा समेत करिडोरले एक्सन लिन नसकेको उनको भनाइ छ ।

 

उता मैनाचुली सिस्ने जेभीका इन्जिनियर देवेन्द्र घिमिरेले आन्तरिक कारण तथा सरकारले ल्याएको नयाँ प्रावधानका कारण काम सुरु नभएको बताए ।

उनले रोड क्लासिफिकेसनको प्रक्रिया चलिरहेका कारण निर्माण कार्य तत्काल अघि बढ्न नसकेको जानकारी दिए । ‘तीन किलोमिटर क्षेत्रमा काम गर्ने अनुमति प्राप्त भइसकेको छ, अब छिट्टै काम सुरु हुन्छ,’ उनले भने, ‘त्रिवेणी र खदाङबाट एकैसाथ काम सुरु गर्ने तयारी गरेका छौँ ।’

इन्जिनियर घिमिरेले त्रिपुरासुन्दरी ५ खदाङमा साइट कार्यालय स्थापना अन्तिम चरणमा पुगेको र सम्झौता अनुसार समयमै काम सम्पन्न गर्ने दाबी गरे ।

कामलाई तीव्रता दिन दुई ठाउँमा एकै चरणमा कामको सुरुवात गरिने समेत बताए ।यता भेरी करिडोर कार्यालयका सूचना अधिकारी गिरिश नन्दनले भने पटक-पटक ताकेता गर्दा पनि निर्माण कम्पनीहरूले काम सुरु नगरेको गुनासो गरे ।

‘हामीले बारम्बार छिटो काम गर्न निर्देशन दिइरहेका छौँ, तर काम सुरु भएको छैन,’ उनले भने, ‘अब पनि काम अघि नबढे कानुनी प्रक्रिया अघि बढाउँछौँ ।’

 

वर्षायामलाई मध्यनजर गर्दै सडक अवरुद्ध हुन नदिन करिडोरले विभिन्न स्थानमा डोजर तयारी अवस्थामा राख्ने योजना समेत बनाएको उनले जानकारी दिए ।

डोल्पा २०७५ सालमा राष्ट्रिय सडक सञ्जालमा जोडिएको थियो । राष्ट्रिय सडक सञ्जालमा जोडिएको वर्षौ भै सक्दा समेत डोल्पाबासीले अझै सास्ती खेप्दै आइरहका छन् ।

भेरी करिडोर अन्तर्गत पर्ने उक्त सडक खण्डले अझै पनि पूर्णता पाउन सकेको छैन ।

हिउँदमा मात्रै डोल्पासम्म सीधा यातायात सञ्चालन हुने गरेपनि वर्षायाममा भने निकै शास्ती खेप्दै यात्रा गर्नु पर्ने वाध्यता छ । यो सडक खण्ड भित्र पर्ने केही खोलाहरूमा बेलिब्रिज निर्माण गरेर यातायात सञ्चालन गरेपनि पक्की निर्माणमा समेत निर्माण व्यवसायीले ढिला गर्दा डोल्पाबासी झनै मारमा छन् । वर्षाको समयमा डोल्पाबाट बाँकेको नेपालगञ्ज, सुर्खेत लगाएतका विकशित शहर पुग्न ३/४ वटा सवारी साधन फेर्नु पर्ने वाध्यता रहेको प्रमुख जिल्ला अधिकारी जुनु हमालले जानकारी दिइन्।

अधिकांश ठाउँमा सवारी साधन फेर्नुपरेपछि स्थानीय यातायात व्यवसायीहरुले चर्को भाडा असुल्ने गरेको गुनासो समेत डोल्पाबासीको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पालाई आर्थिक केन्द्र बनाउने पाँच एजेन्डा प्रधानमन्त्री समक्ष लैजाने तयारी

सांसद बुढाद्वारा डोल्पाको साझा विकासका एजेन्डा तय गर्न सर्वदलीय छलफल आह्वान 

डोल्पा सडक अनियमितता प्रकरण: विशेष अदालतद्वारा ३ जना दोषी ठहर, अन्यलाई सफाइ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 


TOP