डोल्पा । हिमाली जिल्ला डोल्पामा कालाजार तथा छाला रोग सम्बन्धी स्क्रिनिङ क्याम्प सञ्चालन गरिएको छ ।
नेपाल सरकार इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा काठमाण्डौं, कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालय , स्वास्थ्य सेवा कार्यालय डोल्पा, त्रिपुरासुन्दरी नगरपालिकाको स्वास्थ्य शाखा तथा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको संयुक्त आयोजनामा जिल्लाका विभिन्न स्थानमा कालाजार तथा छाला सम्बन्धी रोगको स्क्रिनिङ क्याम्प सञ्चालन गरिएको स्वास्थ्य सेवा कार्यालय डोल्पाले जानकारी दिएको छ ।



क्याम्पमार्फत कालाजार रोग, कालाजार सार्ने भुसुना संकलन तथा छालामा देखिने कालाजार सम्बन्धी परीक्षण र अनुसन्धान कार्य गरिएको जनाइएको छ ।
ठूलीभेरी नगरपालिकामा बुधबार सञ्चालन गरिएको क्याम्पमा ४४ जनाको स्क्रिनिङ गरिएको थियो । सो क्रममा एक जना उपचार गरिसकेका कालाजार बिरामी फेला परेको तथा १३ जनामा छालामा हुने कालाजारको शंकास्पद लक्षण देखिएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका मेडिसिन विभाग अन्तर्गत कालाजार अनुसन्धान कार्यक्रमका प्रमुख सुरेन्द्र उराँवले जानकारी दिए ।

यस्तै बिहीबार त्रिपुरासुन्दरी–१ त्रिपुराकोटमा सञ्चालन गरिएको शिविरमा ५७ जनाले सेवा लिएका छन् । शिविरमा ९ जनामा छालामा हुने कालाजार सम्बन्धी समस्या देखिएको उराँवले बताए ।
कालाजार रोगको अवस्था अध्ययन, संक्रमितको पहिचान तथा रोग नियन्त्रणका लागि अनुसन्धानलाई प्रभावकारी बनाउने उद्देश्यले जिल्लाका विभिन्न ठाउँमा क्याम्प सञ्चालन गरिने जनाइएको छ ।











