प्रमिला विश्वकर्मा/बाँके। नेपालगन्ज उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को दोस्रो चौमासिक सार्वजनिक सुनुवाइ सम्पन्न गर्दै सातबुँदे साझा सार्वजनिक प्रतिबद्धता घोषणा गरेको छ।
बास नेपालको सहजीकरणमा भेरी प्राविधिक शिक्षालयको हलमा सम्पन्न सुनुवाइमा नगरको विकास, सरसफाइ, सडक व्यवस्थापन, सामाजिक सुरक्षा तथा सार्वजनिक सेवा सुधारसँग सम्बन्धित विभिन्न प्रतिबद्धता सार्वजनिक गरिएको हो।



सार्वजनिक सुनुवाइमा लाइन्स गेटदेखि राँझा विमानस्थलसम्म सौन्दर्यीकरण गर्ने तथा सडकका दायाँबायाँ अपाङ्गता मैत्री फुटपाथ निर्माण गर्ने प्रतिबद्धता जनाइएको छ। साथै नेपालगन्ज–६ मा क्रिकेट मैदान निर्माणका लागि पालिकाले पठाएको प्रस्ताव हालसम्म स्वीकृत नभएकाले असारभित्र पुनः डेलिगेसन टोली पठाई स्वीकृतिका लागि पहल गरिने जनाइएको छ।

त्यस्तै, बागेश्वरी मन्दिर बाहिर तथा नगरका विभिन्न स्थानमा खुला रूपमा बस्ने ज्येष्ठ नागरिक र असहाय व्यक्तिहरुको पहिचान गरी व्यवस्थापन गर्ने, दोन्द्रा नाला आसपास तथा नगरका विभिन्न स्थानमा भएको जग्गा अतिक्रमण हटाउने र वडा नम्बर ४ स्थित एबिसी स्कुल जाने बाटो छेउको खाली जमिनमा भइरहेको फोहोर व्यवस्थापनका लागि तत्काल अनुगमन गरी रोक लगाइने प्रतिबद्धता गरिएको छ।
उपमहानगरभित्र इ–रिक्सा व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको भन्दै यसको व्यवस्थित सञ्चालनका लागि आवश्यक कदम चालिने जनाइएको छ। सार्वजनिक स्थान तथा सडक किनारमा जथाभावी फोहोर फाल्ने व्यक्तिहरुको निगरानी गर्न सिसी क्यामेरा जडान गर्ने, सुर्खेत रोड मुख्य सडकको सडक पेटी व्यवस्थापन गर्ने तथा स्थानीय कृषकका उत्पादनको बजारीकरणका लागि सम्भाव्यता अध्ययन गरी आवश्यक सहकार्य गरिने सुनुवाइमा उल्लेख गरिएको छ।

यस्तै वडा नम्बर ९ अन्तर्गत मालपोत कार्यालय र जिल्ला अदालत जाने सडक निर्माण व्यवस्थापनका लागि हरसम्भव पहल गरिने तथा आगामी आर्थिक वर्षमा उक्त सडक निर्माणका लागि बजेट विनियोजन गर्ने प्रतिबद्धता पनि जनाइएको छ।
सुनुवाइ कार्यक्रममा रविन्द्र बोहरा ले सहजीकरण गरेका थिए भने स्वागत तथा कार्यक्रमको उद्देश्यबारे शिव कुमार वर्माले प्रकाश पारेका थिए।
सार्वजनिक सुनुवाइअघि गरिएको नागरिक प्रतिवेदन पत्र र बहिर्गमन अभिमतको नतिजा हेमराज भट्ट ले प्रस्तुत गरेका थिए। खुला छलफलका क्रममा उठेका प्रश्न तथा जिज्ञासाको जवाफ नगर प्रमुख प्रशान्त बिष्ट, प्रमुख प्रशासकीय अधिकृत मान बहादुर बम तथा वडा अध्यक्षहरुले दिएका थिए।
झण्डै तीन घण्टा सञ्चालन भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा उपमहानगरपालिकाका दुई सयभन्दा बढी नगरवासीको सहभागिता रहेको थियो।











