पूर्ण सार्की/ डोल्पा । हिमाली जिल्ला डोल्पाको जगदुल्ला गाउँपालिकामा सञ्चालित नेपाली सेनाको निःशुल्क स्वास्थ्य शिविरमा ४ सय ५२ जनाले सेवा लिएका छन् ।
शनिबार जगदुल्ला गाउँपालिकाको प्रशासनिक भवनमा स्थानीय बासिन्दालाई विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यका साथ शे- फोक्सुण्डो राष्ट्रिय निकुञ्जको सुरक्षार्थको लागि खटिएको नेपाली सेनाको संग्राम शार्दूल गुल्मको आयोजना तथा स्वास्थ्य सेवा कार्यालय डोल्पा, जगदुल्ला गाउँपालिकाको कार्यालय र जगदुल्ला जलविद्युत आयोजनाको सहकार्यमा सञ्चालित एकदिने निःशुल्क स्वास्थ्य शिविरमा ४५० जनाले सेवा लिएका हुन् ।



शिविरमा जनरल ओपिडी सेवा ३२० जना , अर्थोपेडिक सेवा ५० जना , दन्त सेवा २३ जना , आँखा सेवा ५३ जना र पाठेघरको मुखको क्यान्सर सम्बन्धीको सेवा २०० जनाले लिएको संग्राम शार्दुल गुल्मका गुल्मपति हरीश शाहीले जानकारी दिए ।
गुल्मपति शाहीका अनुसार शिविर बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म सञ्चालन गरिएको थियो । शिविरमा नेपाली सेना र जिल्ला अस्पताल दुनैका अनुभवी चिकित्सकहरूले स्वास्थ्य परीक्षण गरेका थिए ।

शिविरमा उच्च रक्तचाप, ग्यास्ट्रिक, दम, स्त्री रोग तथा आँखा सम्बन्धी रोगहरूको जाँच गरिनुका साथै बिरामीलाई निःशुल्क औषधि वितरण समेत गरिएको गुल्मपति शाहीले बताए ।

दूरदराजका बासिन्दालाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले यस्तो शिविर आयोजना गरिएको नेपाली सेनाले बताएको छ।

सेनाले शिविरमा बाँकी रहेको केही प्रकारका औषधिहरू पालिकालाई हस्तान्तरण समेत गरेको छ ।











