हिमाली जिल्ला डोल्पामा निर्माणाधीन जगदुल्ला जलविद्युत् आयोजनाको काम तोकिएको समयमै सम्पन्न गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले निर्देशन दिएका छन् ।
जगदुल्ला जलविद्युत् कम्पनी लिमिटेडको केन्द्रीय कार्यालयको अनुगमनका क्रममा मन्त्री श्रेष्ठले आयोजना निर्माण कार्यमा कुनै ढिलासुस्ती नगर्न आग्रह गर्दै निर्धारित समयसीमाभित्र काम सम्पन्न गर्न निर्देशन दिएका हुन् ।


अनुगमनका क्रममा मन्त्री श्रेष्ठले कर्णाली जस्तो भौगोलिक रूपमा विकट क्षेत्रमा पनि आयोजनाको काम द्रुतगतिमा अघि बढ्नु सकारात्मक पक्ष भएको बताए । उनले आयोजनाले स्थानीय बासिन्दाको जीवनस्तरमा सुधार ल्याउनुका साथै राष्ट्रिय ऊर्जा क्षेत्रमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।
निर्माणका क्रममा आउने प्राविधिक वा प्रशासनिक समस्यालाई मन्त्रालयले तत्काल समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्दै मन्त्री श्रेष्ठले भने ‘निर्माणको चरणमा देखिने समस्या मन्त्रालयलाई तुरुन्त जानकारी गराउनुहोस्, हामी त्यसको समाधान तत्काल खोज्नेछौँ । तर कार्य प्रगतिमा कुनै ढिलासुस्ती हुनुहुँदैन, तोकिएको समयभित्रै निर्माण कार्य सम्पन्न हुनुपर्छ ।’
डोल्पामा जगदुल्ला जलविद्युत् कम्पनी लिमिटेड मातहत निर्माण भइरहेको जगदुल्ला जलविद्युत् आयोजना १०६ मेगावाट र जगदुल्ला ‘ए’ अर्धजलाशययुक्त जलविद्युत् आयोजना १२४.३५ मेगावाट क्षमताका रहेका छन् ।
कार्यक्रममा ऊर्जा मन्त्रालयका सचिव चिरञ्जीवी चटौत को पनि सहभागिता रहेको थियो ।











