ताजा
बाँकेको बैजनाथका विद्यालयमा सरसफाइ र वृक्षारोपण गर्दै मनाइयो वातावरण दिवस  ||    विद्यार्थी तथा युवामैत्री नीति बनाउन नेविसंघद्वारा कर्णाली प्रदेश सरकारलाई आग्रह  ||    सुर्खेतमा कर्णाली प्रदेश युवा सम्मेलन सुरु, युवाको सहभागितामार्फत विकासमा जोड  ||    कालीकोटका छोरीहरू भन्छन्, ‘आत्मविश्वासले मात्र छोरीहरूलाई आत्मनिर्भर बनाउँछ’  ||    ‘छोरीलाई दया भाव नभई अवसर चाहिएको छ’  ||    कर्णालीका दुर्गम बस्ती अझै राज्यको मूलधारबाट टाढा छन्: सोनाम भुट्टी  ||    नयाँ बजेटप्रति डोल्पाबासी छैनन् सन्तुष्टि   ||    डोल्पा, जाजरकोट र रुकुम पश्चिमबीच निरन्तर सहकार्य र समन्वय गर्ने सहमति  ||   
शनिबार , जेठ २३, २०८३

डोल्पा । हिमाली जिल्ला डोल्पामा यार्सागुम्बा संकलन सुरु भएसँगै जिल्लाका अधिकांश विद्यालय बन्द भएका छन् । सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरू अभिभावकसँगै यार्सागुम्बा संकलनका लागि हिमाली पाटनतर्फ जान थालेपछि विद्यालयहरू बन्द गरिएका हुन् ।

जिल्लाका सामुदायिक विद्यालयहरूमा जेठ सुरु भएसँगै विद्यार्थीको उपस्थिती घट्न थालेको शिक्षकहरूले बताएका छन् । केही विद्यालयमा त विद्यार्थी संख्या शून्यजस्तै भएपछि पठनपाठन नै रोक्नु परेको अवस्था आएको छ ।

स्थानीयका अनुसार डोल्पामा यार्सागुम्बा संकलन केवल मौसमी काम मात्र नभई अधिकांश परिवारको मुख्य आम्दानीको स्रोत हो । वर्षभरको खर्च व्यवस्थापनदेखि बालबालिकाको शिक्षादेखि दैनिक जीविकोपार्जनसम्म यार्सागुम्बाबाट हुने आम्दानीमा धेरै परिवार निर्भर रहने गरेका छन् । यही कारण विद्यालय उमेरका बालबालिका समेत अभिभावकसँगै पाटनतर्फ जाने गरेका छन् ।

यो वर्ष जिल्लाका सम्पूर्ण यार्सापाटनहरू जेठ १० गतेदेखि खुला हुँदैछन् । यार्सागुम्बा संकलनको समय नजिकिएसँगै विद्यार्थीहरू विद्यालय छाडेर पाटनतर्फ जान थालेपछि विद्यालय सञ्चालन प्रभावित बनेको हो ।

त्रिपुरासुन्दरी नगरपालिका-३ सुँको सारस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रेम केसीले विद्यार्थी नै विद्यालय आउन छाडेपछि बाध्य भएर विद्यालय बन्द गर्नु परेको बताए ।

उनले भने,’विद्यार्थी जति सबै यार्सागुम्बा टिप्न जान थाले । अहिले विद्यालयमा विद्यार्थी नै आउँदैनन् । त्यसैले विद्यालय बन्द गर्नु परेको हो ।’

विद्यालयका अनुसार जेठ महिनाको सुरुवातसँगै कक्षाकोठा खाली हुन थालेका थिए । दैनिक उपस्थित हुने विद्यार्थी संख्या निरन्तर घटेपछि नियमित पठनपाठन सञ्चालन गर्न असम्भव जस्तै बनेको थियो ।

त्यस्तै त्रिपुरासुन्दरी नगरपालिका-६ फुल्चिङस्थित मुकुटेश्वर माध्यमिक विद्यालयका शिक्षक गंगाराम कठायतले पनि यार्सागुम्बा संकलनकै कारण विद्यालय बन्द गर्नु परेको बताए ।

उनका अनुसार जेठ लागेसँगै अधिकांश विद्यार्थी पाटनतर्फ गइसकेका छन् । ‘विद्यालयमा विद्यार्थी संख्या अत्यन्त कम भएपछि जेठ २५ गतेसम्म विद्यालय बन्द गरिएको हो । विद्यालय बन्द भएपछि म पनि यार्सागुम्बा संकलन गर्न जाने तयारी गरिरहेको छु’ उनले भने ।

यी दुई विद्यालय मात्र होइन, जिल्लाभरका अधिकांश सामुदायिक विद्यालय अहिले बन्द अवस्थामा रहेका छन् । कतिपय विद्यालयले औपचारिक रूपमा बिदा घोषणा गरेका छन् भने केही विद्यालयमा शिक्षक उपस्थित भए पनि विद्यार्थी नआउँदा कक्षा सञ्चालन हुन सकेको छैन ।

काइके गाउँपालिकाका शिक्षा शाखा प्रमुख गोविन्द घर्तीले पालिकाले विद्यालय बन्द नगर्ने योजना बनाए पनि अन्ततः विद्यार्थीको उपस्थिती शून्यजस्तै भएपछि विद्यालय बन्द गर्नु परेको बताए ।

उनले भने ‘हामीले विद्यालय खुला राख्ने प्रयास गरेका थियौं । तर विद्यार्थी नै नआएपछि अन्तिममा विद्यालय बन्द गर्नु पर्ने अवस्था आयो ।’

घर्तीले हरेक वर्ष यार्सागुम्बा संकलनको समयमा यही समस्या दोहोरिने गरेको भन्दै दीर्घकालीन समाधान आवश्यक रहेको बताए ।

उनले यार्सागुम्बा संकलन अवधिलाई लक्षित गरेर विशेष शैक्षिक क्यालेन्डर, वैकल्पिक कक्षा सञ्चालन वा विशेष बिदा व्यवस्थापन गर्नुपर्ने आवश्यकता देखिएको जानकारी दिए ।

‘विद्यार्थीको पढाइ निरन्तरता दिन वैकल्पिक शैक्षिक कार्यक्रम आवश्यक छ’ उनले भने ।

डोल्पामा हरेक वर्ष जेठको दोस्रो सातादेखि असारको दोस्रो सातासम्म १ महिना सम्म यार्सागुम्बा संकलन हुने गर्दछ । यस अवधिमा हजारौं स्थानीय बासिन्दा हिमाली पाटनतर्फ जाने गरेका छन् । गाउँघर नै खालीजस्तै हुने भएकाले विद्यालय, बजार तथा सरकारी सेवा प्रवाह समेत प्रभावित हुने गरेको स्थानीयहरू बताउँछन् ।

शिक्षकहरूका अनुसार यार्सागुम्बा संकलनबाट हुने आम्दानीले धेरै परिवारको आर्थिक अवस्था सुधार गर्न सहयोग पुगे पनि यसको प्रत्यक्ष असर बालबालिकाको शिक्षामा परेको छ । लामो समय विद्यालय बन्द हुँदा पाठ्यक्रम पूरा गर्न कठिन हुने, विद्यार्थीको पढाइमा निरन्तरता नहुने तथा सिकाइ उपलब्धि कमजोर हुने समस्या दोहोरिने गरेको उनीहरूको भनाइ छ ।

स्थानीय तह र विद्यालयले यार्सागुम्बा संकलन र शिक्षाबीच सन्तुलन कायम गर्ने नीति आवश्यक रहेको बताइरहेका बेला डोल्पाका अधिकांश विद्यालय अहिले सुनसान बनेका छन् भने विद्यार्थीहरू हिमाली पाटनतर्फ लागेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पालाई आर्थिक केन्द्र बनाउने पाँच एजेन्डा प्रधानमन्त्री समक्ष लैजाने तयारी

सांसद बुढाद्वारा डोल्पाको साझा विकासका एजेन्डा तय गर्न सर्वदलीय छलफल आह्वान 

डोल्पा सडक अनियमितता प्रकरण: विशेष अदालतद्वारा ३ जना दोषी ठहर, अन्यलाई सफाइ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 


TOP