डोल्पा । हिमाली जिल्ला डोल्पामा विपद्को पूर्वतयारी स्वरूप विपद् प्रतिकार्य अभ्यास गरिएको छ ।
सोमबार जिल्लाको सदरमुकाम दुनैस्थित भेरी नदीमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त आयोजनामा विपद् प्रतिकार्य सम्बन्धी कृत्रिम अभ्यास गरिएको हो ।



अभ्यासका क्रममा वर्षायाममा हुन सक्ने बाढी, पहिरो तथा खोलामा पानीको बहाव बढ्दा उत्पन्न हुन सक्ने जोखिम र त्यसबाट प्रभावितको उद्धार गर्ने तरिकाबारे प्रदर्शन गरिएको नेपाली सेनाको सुलीगाडस्थित संग्राम शार्दुल गुल्मले जानकारी दिएको छ ।

गुल्मका अभ्यासमा विपद्को समयमा अपनाउनुपर्ने पूर्वतयारी, उद्धार तथा घाइतेलाई प्राथमिक उपचार गरी अस्पतालसम्म पुर्याउने प्रक्रियाको अभ्यास गरिएको थियो ।

विशेषगरी बाढी र पहिरोका कारण जोखिममा परेका नागरिकको सुरक्षित उद्धार, डोरीको प्रयोग, स्ट्रेचरमार्फत घाइतेको व्यवस्थापन तथा तत्काल उपचारको अभ्यास गरिएको जनाइएको छ ।

उक्त प्रतिकार्य अभ्यासमा जिल्ला विपद् व्यवस्थापन समितिका निकाय, सुरक्षा निकाय, जिल्ला समन्वय समितिका पदाधिकारी, स्थानीय तहका जनप्रतिनिधि, सदरमुकामस्थित सरस्वती माध्यमिक विद्यालयका विद्यार्थी तथा स्थानीयवासीको सहभागिता रहेको थियो ।

सुरक्षा निकायले वर्षायाम नजिकिँदै गएकाले सम्भावित विपद्बाट हुने क्षति न्यूनीकरणका लागि यस्ता अभ्यासले उद्धार कार्यलाई प्रभावकारी बनाउन सहयोग पुग्ने बताएका छन् ।












