डोल्पा। हिमाली जिल्ला डोल्पाको काईके गाउँपालिकाका अध्यक्ष अंगतकुमार रानामगरले पानीडाल क्षेत्र डोल्पाभित्र पर्ने भनी यसअघि दिएको अभिव्यक्ति फिर्ता लिएका छन्।
शनिबार जिल्लाको सदरमुकाम दुनैमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष राणाले उक्त क्षेत्र पूर्वी रुकुम जिल्लाकै भूभाग रहेको बताएका छन् ।


यसअघि गत जेठ १९ गते जिल्ला समन्वय समिति डोल्पाको सभाहलमा आयोजित डोल्पा र पूर्वी रुकुमका सुरक्षा अधिकारीबीचको सीमा समन्वय बैठकमा अध्यक्ष रानामगरले रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका-०१ मैकोटस्थित पानीडाल क्षेत्र डोल्पाको सीमाभित्र पर्ने दाबी गरेका थिए।
उनको उक्त दाबीपछि सामाजिक सञ्जालदेखि स्थानीय तहसम्म विवाद बढ्दै गएपछि पूर्वी रुकुमको मैकोट क्षेत्रका स्थानीयवासीहरू वडा सदस्य विक्रम पुनको नेतृत्वमा जाङ्ला भञ्ज्याङ क्षेत्रमा भेला भएका थिए। उनीहरूले पानीडाललाई डोल्पाको भूभाग भनेर गरिएको दाबीको विरोध जनाएका थिए।
विवाद समाधानका लागि दुवै जिल्लाका सरोकारवाला निकायबीच छलफल र समन्वय भएपछि अध्यक्ष रानामगरले आफ्नो भनाइ तथ्यगत रूपमा सही नभएको स्वीकार गर्दै अभिव्यक्ति फिर्ता लिएका हुन्। उनले काईके गाउँपालिकाको गाउँभेलाले समेत पानीडाल क्षेत्र पूर्वी रुकुमकै भूभाग रहेको निष्कर्षसहित निर्णय गरिसकेको जानकारी दिए।
गाउँपालिकाको आधिकारिक निर्णय तथा स्थानीय जनमतलाई सम्मान गर्दै आफूले पहिले व्यक्त गरेको धारणा सच्याएको उनले बताए। उनले आफ्नो अभिव्यक्तिका कारण उत्पन्न असहजता र विवादप्रति खेद व्यक्त गर्दै भविष्यमा यस्ता संवेदनशील विषयमा तथ्य, प्रमाण र आधिकारिक निर्णयका आधारमा मात्र धारणा सार्वजनिक गर्ने प्रतिबद्धता जनाए।
जिल्ला प्रशासन कार्यालय डोल्पाका सहायक प्रमुख जिल्ला अधिकारी रमेश पौडेलका अनुसार अध्यक्ष रानामगरले अभिव्यक्ति फिर्ता सँगै स्पष्टीकरण र माफीपछि विवाद साम्य हुँदै गएको छ। अध्यक्ष राणाले सार्वजनिक रूपमै मागी मागेपछि रुकुम पूर्वको जाङ्ला भञ्ज्याङ क्षेत्रमा भेला भएका स्थानीयहरू पनि आ-आफ्नो स्थानतर्फ फर्किएका छन्।











