डोल्पा । डोल्पाको त्रिपुराकोट क्षेत्रमा कृषकहरूले लगाएको मकैबाली तथा अन्य खेतीमा क्षति पुर्याएपछि स्थानीयवासीले मनपरी छोडिएका घोडा नियन्त्रणमा लिएका छन्।
जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका-०१ अन्तर्गत त्रिपुराकोटको डोप्केसेरा- पातीहाल्ना क्षेत्रमा कृषकले लगाएका मकै तथा अन्य बालीमा क्षति पुगेपछि स्थानीयवासीले उक्त क्षेत्रमा छोडिएका पाँच वटा घोडा नियन्त्रणमा लिएको स्थानीयले जानकारी दिएका छन्।


स्थानीयका अनुसार खुला रूपमा छोडिएका घोडाहरू मकैबारीमा प्रवेश गरी बाली नष्ट गर्न थालेपछि बाध्य भएर नियन्त्रणमा लिनुपरेको हो। कृषकहरूले मेहनत गरेर लगाएको मकैबालीमा निरन्तर क्षति पुग्न थालेपछि घोडाहरू नियन्त्रणमा लिइएको उनीहरूको भनाइ छ।
हाल नियन्त्रणमा रहेका घोडाका मालिकलाई यथाशीघ्र सम्पर्कमा आई बालीमा भएको क्षतिको उचित क्षतिपूर्ति तिरेर घोडा लैजान आग्रह गरिएको त्रिपुराकोटका स्थानीय मुखिया टीकादत्त न्यौपानेले जानकारी दिए। उनका अनुसार तोकिएको समयमा मालिक सम्पर्कमा नआए आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइनेछ।
स्थानीय चन्द्रा कठायतका अनुसार त्रिपुराकोटका अधिकांश स्थानीहरुले उक्त क्षेत्रको अधिकांश भूभागमा मकै, चिनो, सिमी र फापर लगायतका बाली खेती गर्ने गरेका छन् । तर पर्याप्त घेराबार तथा अन्य आवश्यक पूर्वाधार अभाव र वर्षेनी पशुचौपाया मनपरी छोड्ने प्रवृत्तिका कारण कृषकहरू समस्यामा पर्ने गरेका छन्।
उनले लगाइएको बाली गोडमेल गर्ने अवस्थामा रहेको बताउँदै पशुचौपाया जथाभावी नछोड्न र पशुचौपाया जथाभावी छोड्ने प्रवृत्तिले स्थानीय कृषकहरू मारमा परेको भन्दै सम्बन्धित पक्षलाई जिम्मेवार बन्न आग्रह समेत गरेकी छन् ।










