सुर्खेत – राज्यको चौथो अंग मानिएको सञ्चार क्षेत्रका एक प्रतिनिधि व्यक्ति, पत्रकार शेर बहादुर थापा, जातीय भेदभाव तथा छुवाछूत सम्बन्धी मुद्दामा पक्राउ परेका छन्। पहिलो प्रेस डटकमका सञ्चालकसमेत रहेका थापा २०८२ जेठ १२ गते सोमबार बिहान १०:१५ बजे विरेन्द्रनगर नगरपालिका–१० बाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी मोहनजंग बुढथापाले जानकारी दिए।
सामाजिक सञ्जाल फेसबूकमा अपलोड गरेको स्टाटसमा जातीय विषयलाई अपमानित हुने शब्द प्रयोग गरेको भन्दै उनीमाथि जिल्ला प्रहरी कार्यालय सुर्खेतमा २०८२ वैशाख ११ गते जातीय भेदभाव गरेको अभियोगमा दलित अधिकार कर्मी द्वारा मुद्दा दर्ता गरिएको थियो।


त्यसयता फरार रहेका थापालाई सुर्खेत जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले फेला पारी नियन्त्रणमा लिएको हो। हाल उनलाई प्रहरीको हिरासत कक्षमा राखी अनुसन्धान कार्य भइरहेको प्रहरी द्धारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।
प्रेस विज्ञप्तिमा हेर्नुहोस्

सञ्चारजस्तो जिम्मेवार क्षेत्रमा आबद्ध व्यक्तिबाट भएको यस्तो कार्य गम्भीर र निन्दनीय छ। जातीय भेदभाव सामाजिक दृष्टिले अपराध हो भने कानुनी दृष्टिले दण्डनीय मानिन्छ। “छुवाछूत तथा भेदभाव (कसुर र सजाय) ऐन, २०६८” अनुसार कसैले जातीय भेदभाव वा छुवाछूत गरेमा तीन वर्षसम्म कैद, वा तीस हजार रुपैयाँसम्म जरिवाना, वा दुवै सजायको व्यवस्था छ।











