डोल्पा: हिमाली जिल्ला डोल्पाको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जले यो वर्ष यार्सागुम्बा संकलन पुर्जी वितरणबाट १ करोड ५५ लाख ३२ हजार रुपियाँ बराबरको राजश्व संकलन गरेको छ ।
निकुञ्जले आफ्नो क्षेत्र भित्र पर्ने पाटनहरुमा प्रवेशको लागि सुलिगार्ड, खालीबन/त्रिपुराकोट, तोइजुम, लगायतका पाँचवटा स्थानबाट मात्रै १ करोड ५५ लाख ३२ हजार राजश्व संकलन गरेको हो । धो, सुम्दो, छेक्पा, रिग्मोमा कति राजश्व उठ्यो भन्ने जानकारी आउन बाँकी रहेको शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जले जानकारी दिएको छ ।


यार्सागुम्बा संकलनको लागि बाँकी स्थानहरूबाट वितरण गरिएको इजाजत पत्रको जानकारी आएपछि कुल १ करोड ८८ लाख बराबरको राजश्ज उठ्ने अनुमान गरिएको निकुञ्जका रेन्जर किशोर महतले जानकारी दिए ।
उनका अनुसार निकुञ्जले अघिल्लो वर्ष १ करोड ४५ लाखमात्र राजश्व उठेको थियो । यो वर्ष पाँच ठाँउको मात्रै गणना गर्दा पनि अघिल्लो वर्षको भन्दा दश लाख धेरै राजश्व उठीसकेको छ।
आधाको जानकारी आउनै बाँकी रहेको र यो वर्ष अघिल्लो वर्षको उठेको राजश्वको तुलनामा करिब पौतालीस लाख धेरै राजश्व उठ्ने अनुमान गरिएको उनको भनाइ छ ।
कर्मचारी दरबन्दी थप हुनुका साथै यार्सा संकलकको सङ्ख्या पनि बृद्धि भएकाले पनि राजश्व धेरै संकलन भएको रेञ्जर महतले बताए । निकुञ्ज क्षेत्रका नौ वटा स्थानबाट करिब दश हजार सर्वसाधारण यार्सा संकलनका लागि पाटन प्रवेश गरेको प्रमुख संरक्षण अधिकृत नुरेन्द्र अर्यालले जानकारी दिए ।
जेठ ५ गतेदेखि निकुञ्ज क्षेत्रमा पर्ने सम्पूर्ण यार्सा पाटन खुला गरिएको थियो । तर, डिभिजन वन अन्तर्गतका कतिपय यार्सा पाटनहरुहरु अझै खुलेका छैनन् ।
जिल्ला सदरमुकाम दुनैमा बैशाख २१ गते भएको सर्वपक्षीय बैठकले जेठ ५ गते निकुञ्ज र वन क्षेत्रका सम्पूर्ण यार्सा पाटन खोल्ने निर्णय गरे पनि त्यसको कार्यान्वयन भने शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जले मात्र गरेको छ ।डिभिजन वन कार्यालय आफैं उपस्थित भएको बैठकमा आफू मातहतका यार्सा पाटनहरु तोकिएको मितिमा नखुलेको एकसाता बितिसक्दा समेत केही पाटन भने अझै खुल्न सकेका छैनन् ।











