सुर्खेत,असार ९ – आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने मौसम पूर्वानुमान गरिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भूभागका केही स्थानहरूमा तथा बाँकी भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ।


कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानमा भने भारी वर्षा हुने सम्भावना रहेको पूर्वानुमान छ। त्यस्तै, देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का वर्षासँगै हिमपातको सम्भावनासमेत रहेको छ।
आज राति पनि आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा अन्य प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने छ। साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको छ।
महाशाखाले आगामी २४ घण्टाका लागि जारी गरेको चेतावनी तथा परामर्शमा जनाइएको छ कि भारी वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी, पहिरो, भूक्षय, नदीहरूको जलस्तरमा वृद्धि, तथा यातायातमा अवरोध हुन सक्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरिएको छ।
मौसमको यस स्थितिले जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भन्दै सम्बन्धित निकाय र नागरिकहरूलाई आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।











