सुर्खेत: कर्णाली प्रदेशको विकट एबम् दुर्गम जिल्ला हुम्लाको अदानचुली गाउँपालिका वडा नम्बर ३, फडेरा गाउँका २२ वर्षीय धिरेन्द्र भियालको शव पाँच दिन देखि अस्पतालमै छ।


हेल्थ असिस्टेन्ट (एच.ए) को पढाइ सकेर जागिर नपाएपछि विदेश जाने तयारीमा रहेका धिरेन्द्रले यही अषाढ ८ गते साँझ काठमाडौँको कलंकीस्थित ढुंगेअड्डामा ट्रकको ठक्करबाट ज्यान गुमाएका थिए।
सामान्य घरको परिवारमा जन्मेका उनी सँग सपना ठूलो थियो पढेर देशको सेवा गर्ने। पढाइ सकेपछि नेपालमा जागिर नपाएपछि विदेश गएर भएपनि बुबाआमाले निकालेको ऋण तिर्ने। तर यो सपना उनले पुरा गर्न पाएनन्। काठमाडौँको थानकोटमा कोठा लिएर एक्लै बसिरहेका उनी साँझ ८ बजेतिर मोटरसाइकलमा बाहिर निस्केका थिए। केही समयपछि उनी चढेको मोटरसाइकल र अर्को मोटरसाइकल आपसमा ठोक्किँदा उनलाई पछाडिबाट आएको ना.६ ख ८६७४ नम्बरको ट्रकले ठक्कर दियो। ट्रकको ठक्कर बाट घटनास्थलमै धिरेन्द्रको मृत्यु भयो भने अर्को मोटरसाइकल चालक घाइते छन्।
धिरेन्द्रको मृत्युपछि उनका बुबा मन्जीते भियाल र आमा सुगानी भियाल चिन्तामा छन्। हुम्ला आफ्नो गाउँबाट बाजुराको कोल्टी हुँदै नेपालगञ्ज र त्यसपछि काठमाडौं आइपुगेका उनीहरु छोराको रगतले लतपतिएको शव टिचिङ अस्पतालमा देख्दा आफूलाई थाम्न सकिरहेका छैनन । घटना भएको पाँच दिन बिती सक्दा समेत ठोस छानबिन नहुँदा परिवारलाई दुःखमा झनै पीडा थपिरहेको छ।
‘दुई मोटरसाइकल ठोक्किएका थिए, मेरो छोरालाई चाहिँ ट्रकले किच्यो। यो नियोजित घटना हो भनेर प्रहरीमा जाहेरी दिएको छु, तर अहिलेसम्म कुनै अनुसन्धान भएन’ धीरेन्द्रको बुबा मन्जीते भियाल भन्छन्।
घरको एकमात्र छोरा गुमाएका भियाल परिवार आर्थिक, मानसिक र न्यायिक पीडामा छन्। अस्पतालमा लास राख्दा आउने खर्च कसले तिर्ने भन्ने चिन्ता उनीहरूसँग छ भने घरमा ऋण र बाँच्ने आशाभन्दा बढी निराशाको भार थपिएको छ।
घटना भएको पाँच दिन बित्दासमेत घटनाको विषयमा न त कुनै जनप्रतिनिधि बोलेका छन्, न त सरकारी निकायले चासो नै देखाएको छ। यदि यो घटना राजधानीका कुनै धनीको परिवारमा घटेको भए सडक बन्द हुने, चर्को विरोध हुन्थ्यो भन्ने गुनासो स्थानीयको छ। तर हुम्लाको विकट गाउँबाट आएका गरिब दलित युवाको मृत्युपछि न नेताहरु आए, न न्यायका पक्षमा आवाज उठ्यो।
धिरेन्द्रका आफन्त र नागरिकहरुले शुक्रबारदेखि थानकोट चेकपोष्टबाट शान्तिपूर्ण विरोध प्रदर्शन गर्ने बताएका छन्। घटनाको सत्यतथ्य छानबिन , दोषीलाई कारवाही होस्, पीडित परिवारलाई राहत दिइयोस् भन्ने उनीहरूको माग छ।
मृत्युपछि एउटा गरिब परिवारको सपना मात्र होइन, विश्वास पनि चकनाचुर भएको छ। सवाल दुर्घटनाको मात्र होइन – सवाल हो राज्य, समाज र मानवता कुन वर्गको पक्षमा उभिन्छ भन्ने। आज धिरेन्द्र थिए, भोलि अरु पनि हुनसक्छन्। न्यायको सुनिश्चितता नै भविष्यका लागि भरोसाको आधार बन्न सक्छ।











