डोल्पा: डोल्पामा पछिल्ला दिनमा अनलाइन ठगीका घटना बढेका छन्। डोल्पामा अघिल्लो आर्थिक वर्षमा एउटा मात्र उजुरी परेकोमा अहिले लगातार उजुरी आउने क्रम सुरु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारी दिएको छ।
जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरीक्षक (डीएसपी) रुकबहादुर खड्काका अनुसार डोल्पामा पछिल्लो साताभित्र मात्रै अनलाइन ठगीसम्बन्धी तीनवटा उजुरी दर्ता भएका छन्। ती उजुरीअनुसार करिब चार लाख रुपैयाँ ठगी भएको पाइएको छ। ठगीमा विद्यार्थीदेखि सरकारी कर्मचारीसम्म परेका छन्।


‘अघिल्लो आर्थिक वर्षमा अनलाइन ठगीको एउटा मात्रै उजुरी आएको थियो, जसमा करिब १० लाख रुपैयाँ ठगी भएको थियो। त्यो उजुरी अपराध अनुसन्धान महाशाखा (सीआईबी) पठाइसकिएको छ,’डीएसपी खड्काले बताए।
उनका अनुसार ठगहरूले ह्वाट्सएप, भाइबर, फेसबुकजस्ता सामाजिक सञ्जालमार्फत विभिन्न प्रलोभन देखाई सर्वसाधारणलाई झुक्याउने गरेका छन्। सहरका मानिसहरू अनलाइन ठगीबारे बढी सचेत भएकाले अहिले ठगहरूले दुर्गम ग्रामीण भेगका नागरिकहरूलाई लक्ष्य बनाउन थालेका छन्।
‘डोल्पामा इन्टरनेट पहुँच विस्तारसँगै यस्ता घटनामा वृद्धि भएको देखिन्छ। त्यसैले जिल्लाबासी सबैले सचेत रहन आवश्यक छ,’उनले भने।
प्रहरीले यस्ता घटना दोहोरिन नदिनका लागि जिल्लाका सरोकारवालासँग छलफल गर्ने र सबै प्रहरी युनिटमार्फत सचेतना अभियान सञ्चालन गर्ने तयारी गरेको जनाएको छ।











