सुर्खेत: कर्णाली प्रदेशको मुख्य प्रवेशद्वार बबईमा रहेको प्रहरी चेकपोस्टमा कार्यरत सबै प्रहरीहरु परिवर्तन गरिएको छ।
भेरीगंगा नगरपालिका स्थित बबईमा रहेको चेक पोष्टमा कार्यरत प्रहरीले सवारीसाधन आवतजावतमा अनायसी दुःख दिने गरेको गुनासो आएपछि कर्णाली प्रदेश प्रहरी कार्यालयले एक हप्ता अगाडि सवै टोली नै परिवर्तन गरेको प्रदेश प्रहरी कार्यालय सुर्खेतका निमित्त प्रमुख (एसएसपी) केदारप्रसाद खनाले जानकारी दिए। उनले भने ‘ उक्त चेक पोष्टमा रहेका प्रहरी र ट्राफिक प्रहरीहरुले दुर्व्यवहार गरेको भन्दै जनताबाट गुनासो आएपछि सबै टोली परिवर्तन गरिएको हो।’


उक्त पोस्टमा बेलाबेलामा बबईमा प्रहरीबाट सवारी साधन तथा यात्रुहरुलाई दुःख दिने गरेको गुनासो आईरहेका बेला प्रदेश प्रहरीले बबईमा कार्यरत टोलीलाई फिर्ता बोलाई नयाँ टोली पठाएको निमित्त प्रमुख खनालले बताए।
परिवर्तन गर्नु पूर्व पोष्टमा कार्यरत हवल्दारसहित ४ जना ट्राफिक प्रहरी र असई सहित ११ जना नेपाल प्रहरीको टोली गरी १५ जनालाई फिर्ता बोलाई ट्राफिक प्रहरी पोष्टमा वरिष्ठ हवल्दार जितेन्द्र शाहीको कमाण्डमा ३ जना र नेपाल प्रहरीका असई डम्मर बहादुर खत्रीको कमाण्डमा ११ जना प्रहरी खटाइएको छ।
अत्याधीक जनगुनासो पछि मुख्य प्रवेशद्वार बबईमा जनता र सवारी साधनलाई दिईने दुःखका बारेमा अनुसन्धान गर्न छानविन समिति समेत बनाएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ।
बबईमा सवारी साधन चेकिङ्गका नाममा पैसा असुल गर्ने र यात्रुहरुलाई दुःख दिने जनगुनासोका बीच कर्णाली प्रदेशले एक्सन लिएर छानविन गरी प्रहरी युनिट नै परिवर्तन गरेको हो।











