सुर्खेत । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको कर्णाली प्रदेशको आर्थिक गतिविधि अध्ययन २०८१/८२ अनुसार, कर्णाली प्रदेशको कूल गार्हस्थ्य उत्पादन (जीडीपी) दुई खर्ब ५६ अर्ब पुग्ने अनुमान गरिएको छ। प्रतिवेदनले यस आर्थिक वर्षमा कर्णालीको जीडीपी वृद्धि दर ४.७४ प्रतिशत रहने प्रक्षेपण गरेको छ। राष्ट्रिय जीडीपीमा कर्णालीको योगदान ४.१९ प्रतिशत रहने प्रारम्भिक अनुमान गरिएको छ, जुन गत आर्थिक वर्ष २०८०/८१ को संशोधित अनुमान (४.२९ प्रतिशत) भन्दा केही कम हो। कृषि, उद्योग र सेवा क्षेत्रमध्ये कर्णालीको यो वर्षको योगदान क्रमशः ५.२४ प्रतिशत, ३.१३ प्रतिशत तथा ३.९८ प्रतिशत रहने अनुमान प्रतिवेदनमा उल्लेख छ।
सिलबन्दी दरभाउपत्र आव्हान सम्बन्धी दोश्रो पटक प्रकाशित सूचना



प्रतिवेदनअनुसार समयमै धान रोपाइँ हुनु, मौसम अनुकूलता, आन्तरिक पर्यटनको प्रवर्द्धन, वित्तीय सेवा तथा डिजिटल भुक्तानीको विस्तार, शिक्षा र स्वास्थ्य सेवामा सुधार, साथै यातायात तथा सञ्चार पूर्वाधारमा भएको प्रगतिले कर्णालीको आर्थिक गतिविधिमा सकारात्मक प्रभाव परेको छ। साथै, रणनीतिक सडक विस्तार, विद्युत प्रसारण लाइन निर्माण, पर्यटन पूर्वाधारका निर्माण कार्य, भूकम्प पुनर्निर्माण तथा ऊर्जा, कृषि, सूचना प्रविधि र खानेपानीसम्बन्धी पूर्वाधार निर्माणले आगामी आर्थिक वर्ष २०८२/८३ मा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ। प्रदेशको जीडीपीमा कृषि क्षेत्रको योगदान ३१.५० प्रतिशत छ, तर कृषि उत्पादन र कृषि क्षेत्रले ओगट्ने कुल भू–क्षेत्र पछिल्ला वर्षहरूमा लगातार घट्दै गएको राष्ट्र बैंकले जनाएको छ। २०८१/८२ को असार अन्त्यसम्म कृषि बाली ढाकिएको क्षेत्रफल अघिल्लो वर्षको तुलनामा ६.०८ प्रतिशतले घटेको छ।
सिलबन्दी दरभाउपत्र आह्वानको सूचना

कृषि क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको लगानी पनि कमजोर छ। गत वर्ष कृषि क्षेत्रमा प्रवाहित कर्जा कुल कर्जाको ८.०२ प्रतिशत मात्र थियो, र यो रकम अघिल्लो वर्षको तुलनामा ७.७० प्रतिशतले घटेको प्रतिवेदनले देखाएको छ। उद्योग क्षेत्रमा नमूना छनोटमा परेका उद्योगहरूको औसत क्षमता उपयोग ४६.५२ प्रतिशत मात्र रहेको छ। तार–केबल उत्पादन उद्योगले ९० प्रतिशत क्षमताको उपयोग गर्दै सबैभन्दा राम्रो प्रदर्शन गरेको छ भने गलैंचा उद्योगले २३.०८ प्रतिशत प्रयोगसहित सबैभन्दा कम उपयोग गरेको छ। औद्योगिक कर्जा २०८०/८१ को तुलनामा १.९४ प्रतिशतले घटेको छ, र समग्र कर्जामध्ये उद्योग क्षेत्रमा जाने कर्जाको हिस्सा ६.५० प्रतिशत मात्र छ।
सेवा क्षेत्रअन्तर्गत कर्णालीमा प्रवेश गर्ने पर्यटक संख्या यो वर्ष १.७२ प्रतिशतले बढेको छ। तर भारत र चीनबाट आउने पर्यटक क्रमशः २३.८५ प्रतिशत र २५.७७ प्रतिशतले घटेका छन्। तेस्रो मुलुकबाट आउने पर्यटक भने ९.१३ प्रतिशतले बढेको प्रतिवेदनमा उल्लेख छ।










