डोल्पा। हिमाली चिसो हावाले छोएको एउटा पुरानो घर छ। त्यही घरको ढोकामा दुई साना अनुहारहरू बसिरहेका छन्।

दिदी चुपचाप टाउको हातमा अड्याएर बसेकी छिन्। आँखाबाट बगेका आँसु गालामा सुक्न नपाउँदै फेरि झर्छन्। मनमा अनेकौं पीडा छन् अनि प्रश्नहरू छन्, तर जवाफ दिने कोही छैन।

छेउमै उनको सानो भाइ, मौन र अलमलिएको, हातमा सानो खेलौना समाउँदै टाढा कतै हेर्दैछ। उसले केही भन्न सकेको छैन, तर सबै महसुस गरिरहेको छ। केही-कसैलाई-उनीहरूले गुमाइसकेका छन्।

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ रल्ली गाउँ। सुन्दर अनी चिटिक्क देखिने यहीँ गाउँका यी दुई नाबालक ११ वर्षीय जयलक्ष्मी कुलाल र उनका भाइ ८ वर्षीय रविन कुलालको जीवन एकाएक बदलिएको छ। कुनै बेला पारिवारिक वातावरणमा हुर्केका यी बालक अहिले टुहुरो जस्तै जीवन बिताउन बाध्य भएका छन्। बुबाआमा टाढिएपछि विगत केही दिनदेखि उनीहरू एक्लै जीवनयापन गरिरहेका छन्।

उनीहरूका बुबा, ३९ वर्षीय जंगबिर कुलाल, विगत १८ महिनादेखि जिल्ला कारागारमा छन्। कारागार जानु अघि जंगबिर पालिकामा विद्युत मर्मतको जागिर गर्दै आएका थिए। परिवार सामान्य र खुसी थियो।

तर त्रिपुराकोट बगरमा सरकारी सवारीसाधनमा आगजनी गरेको आरोपमा उनी कारागार पुगेपछि परिवारमा संकट सुरु भयो।

जंगबिर जेलमा हुँदा घरको एक मात्र सहारा बनेकी आमा जयक्वारा कुलालले घर धानिरहेकी थिइन्। जस्तो सुकै काम गरेर भए पनि दैनिकी चलाइरहेकी थिइन्।

तर उनै जयक्वाराले चार दिनअघि पाँच वर्षकी छोरीलाई लिएर घर छाडिन्। स्थानीयका अनुसार उनले विवाह गरेर गएकी हुन्।

आमा बेपत्ता भएपछि घरको ढोकामा बसिरहेका यी दुई बालबालिका अब पूर्ण रूपमा अभिभावकविहीन बनेका छन्।

घरभित्र चुलो चिसो छ। भाँडामा अन्नको एक दाना छैन। लथालिङ्ग घरको अवस्था छ। दैनिक पेट भर्न संघर्ष, लगाउन लत्ता अभाव, अनि विद्यालय जाने सपना-सबै अधुरो बनेका छन्।दिदी कहिले ढोकाको चौकोसमा टाउको राखेर रुन्छिन्, कहिले आँसु लुकाउन हातले मुख छोप्छिन्।

भाइ चुपचाप छ-तर उसको मौनता पनि एउटा पीडा हो। आमा र बुबा दुवै साथमा नहुँदाको पीडा ती कलिला नाबालकको अनुहारमा प्रष्ट देखिन्छ।

अहिले उनीहरूलाई न त हेर्ने मान्छे कोही छ, न त आफैँ भोक मेटाउने अवस्था नै छ। जन्मदिने आमाले साथ छाडेपछि उनीहरू भोकभोकै दिन बिताइरहेका छन्।

जेलजीवन बिताइरहेका बुबाले फर्किने आश्वासन दिइरहेका छन्। तर उनी कहिले छुट्ने भन्ने टुंगो छैन।

त्यही आश्वासनको भरमा-भोकै, नाङ्गै, आँखाभरि आँसु र मनभरी पीडा बोकेर बसिरहेका यी दुई दिदीभाइको भविष्य अहिले अन्योलमा छ।

स्थानीयका अनुसार बालबालिकाको नजिकबाट हेरचाह गर्नका लागि मुख्य अभिभावक नै नभएकाले उनीहरू भोकभोकै दिन बिताउन बाध्य छन्। यस्तो अवस्थामा उनीहरूको जीवन रक्षा र भविष्य सुनिश्चित गर्न तत्काल सहयोग गर्न आफन्तद्वारा अपिल गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पाका सांसद बुढाले गरे आफूले पाउने सेवा–सुविधा समाजसेवामा खर्च गर्ने प्रतिबद्धता

सांसद बुढाद्वारा डोल्पाको साझा विकासका एजेन्डा तय गर्न सर्वदलीय छलफल आह्वान 

प्रधानमन्त्री बालेनसमक्ष डोल्पाका सांसद धन बहादूर बुढाको १५ बुँदे माग, के के छन् माग? 

डोल्पा सडक अनियमितता प्रकरण: विशेष अदालतद्वारा ३ जना दोषी ठहर, अन्यलाई सफाइ

सांसद बुढाद्वारा डोल्पाका विभिन्न ठाउँमा टेलिकमको फोरजी सेवा विस्तार सहित टावर स्तरवृद्धिको माग

प्रधानमन्त्री बालेन शाहलाई डा. अबुल हुसेन अन्सारीको खुला पत्र


TOP