पुर्ण सार्की/डाेल्पा। हिमाली जिल्ला डोल्पाको काईके गाउँपालिकाको १५ औं गाउँसभा सम्पन्न भएको छ। आईतबार सम्पन्न गाउँसभाले आर्थिक वर्ष २०८२/८३ का लागि कुल ३३ करोड ५९ लाख ३९ हजार ७ सय ६५ रुपैयाँको बजेट पारित गरेको हो।


गाउँपालिकाका अध्यक्ष अंगद कुमार रानाको अध्यक्षतामा शरहतारा बगरमा सम्पन्न सभामा उपाध्यक्ष निमा बुढाले ‘गुणस्तरीय शिक्षा, स्वास्थ्य, हरित पूर्वाधार र रोजगारी, जनमुखी सेवा समृद्धिको तयारी’ भन्ने मूल नाराका साथ नीति, कार्यक्रम र बजेट प्रस्तुत गरेकी थिइन्।
उपाध्यक्ष बुढाले स्थानीय सरकारले जनताको प्रत्यक्ष निगरानी र सहभागितामा सेवा प्रवाह गर्दै आएको उल्लेख गर्दै नागरिकले ‘सरकार छ है’ भन्ने अनुभूति पाउने खालका कार्यहरूमा प्राथमिकता दिइने बताइन्।
गाउँपालिकाको सम्मानित गाउँ सभाबाट समानीकरण अनुदान: रु ७ करोड ५२ लाख, शशर्तसहितको चालू अनुदान रु ७ करोड ९९ लाख, सशर्तसहितको पुँजीगत अनुदान रु ३ करोड २७ लाख, समपूरक पुँजीगत अनुदान रु ८४ लाख बजेट संघीय सरकार बाट प्राप्त भएको जानकारी दिएको छ। यस्तै प्रदेश सरकारबाट समानीकरण अनुदान रु ६८ लाख १८ हजार शशर्तसहितको चालू अनुदान रु ५ लाख ९९ हजार शशर्तसहितको पुँजीगत अनुदान रु ३ करोड, विशेष चालू अनुदान रु ८० लाख, समपूरक पुँजीगत अनुदान रु २६ लाख ८१ हजार र
राजस्व बाँडफाँट बाट संघीय सरकारबाट रु ८ करोड २५ लाख ९० हजार ५ सय प्रदेश सरकारबाट रु ८ लाख ७१ हजार २ सय ६१ बजेट प्राप्त गरेको छ।
त्यस्तै गाउँपालिकाको आन्तरिक राजस्व रु ३१ लाख ८० हजार र आन्तरिक मौज्दात रकम रु ५० लाख रहेको निमित्त प्रमुख प्रशासकीय अधिकृत इन्जिनियर भोजराज जोशीले जानकारी दिए।
गाउँपालिका १५ औं गाउँसभा देखि शिक्षा, स्वास्थ्य, पूर्वाधार र रोजगारीलाई प्राथमिकतामा राखी बजेट विनियोजन गरिएको गाउँपालिकाले जानकारी दिएको छ।
गाउँपालिकाले गुणस्तरीय शिक्षा, स्वास्थ्य, हरित पूर्वाधार, कृषि, पर्यटन, रोजगारी सिर्जना तथा जनमुखी सेवा प्रवाहमा विशेष प्राथमिकता दिने जनाएको छ। अध्यक्ष रानाले काईके जिल्लाकै विवाद रहित गाउँपालिका रहेको दावी गर्दै ‘विकट भूगोललाई परास्त गर्दै समृद्धिको रेखा कोर्ने’काम भइरहेको बताए।
उनका अनुसार निकट भविष्यमा काईके सडक सञ्जालमा जोड्नका लागि सम्बन्धित निकायहरूसँग समन्वय भइरहेको छ।











