डोल्पा : डोल्पोबुद्ध गाउँपालिकाको १७औँ गाउँसभा मंगलवार पालिकाको केन्द्र धोमा विशेष कार्यक्रमका साथ सम्पन्न भएको छ। आगामी आर्थिक वर्ष २०८२/८३ का लागि कुल ३१ करोड ४ लाख ११ हजार ९७ रुपैयाँको बजेट सर्वसम्मत पारित गरिएको छ।


गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनबहादुर थापाका अनुसार उक्त बजेटमध्ये चालु खर्चतर्फ १४ करोड १० लाख ९८ हजार ९७ रुपैयाँ र पूँजीगत खर्चतर्फ १६ करोड ९३ लाख १३ हजार रुपैयाँ विनियोजन गरिएको छ।
गाउँसभामा अध्यक्ष कार्मा छोइवेल गुरुङको अध्यक्षतामा तथा उपाध्यक्ष पेम्मा धोर्चे गुरुङको तर्फबाट बजेट प्रस्तुति गरिएको थियो। उपाध्यक्ष गुरुङले शिक्षा, स्वास्थ्य, कृषि र पशुपालन क्षेत्रलाई प्राथमिकता दिँदै बजेट विनियोजन गरिएको जानकारी दिए।
यद्यपि डोल्पोबुद्ध गाउँपालिका राष्ट्रिय राजमार्गसँग अझै पनि नजोडिएको भए पनि सबै वडामा आन्तरिक सडक सञ्जाल पुगेको र खुल्ला ट्रयाकहरूको स्तरोन्नति मार्फत नागरिकलाई सहज सेवा उपलब्ध गराउनेतर्फ बजेट केन्द्रित गरिएको जनाइएको छ।
चीनको मरिम्ला र क्याटो नाकासँग सीमा जोडिएको डोल्पोबुद्धलाई सम्भावित व्यापारिक केन्द्रका रूपमा विकास गर्न स्थानिय सरकारले योजना अघि बढाइरहेको छ। सोही अवसरलाई ध्यानमा राख्दै गाउँपालिकाका अध्यक्ष गुरुङले संघीय सरकारसँग थप ध्यान दिन आग्रह गरे।
उनले भने, “स्थानीय सरकारको स्रोत सीमित छ, तर संघीय र प्रदेश सरकारको सहकार्यबाट डोल्पोबुद्ध गाउँपालिका सुक्खा बन्दरगाहको रुपमा विकसित गर्न सकिन्छ।”
सभाले उच्च हिमाली क्षेत्रमै खटिएर निरन्तर सेवा दिने कर्मचारीहरूको समेत प्रशंसा गर्दै धन्यवाद ज्ञापन गरेको छ। आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्न थालेको डोल्पोबुद्धमा संघीय संरचनाले माथिल्लो डोल्पाका तीनवटै स्थानीय तहलाई विकासमा सहजता पुर्याएको स्थानीयवासीहरूको भनाइ छ।











