डोल्पा :डोल्पाको जगदुल्ला गाउँपालिकाले १८औँ गाउँसभा मंगलबार भव्य समारोहका बीच सम्पन्न गरेको छ। गाउँपालिकाको केन्द्र माझगाउँमा सम्पन्न सभाबाट आर्थिक वर्ष २०८२/८३ का लागि कुल ३३ करोड ८२ लाख ५३ हजार ६ सय ३२ रुपैयाँको बजेट सर्वसम्मत रूपमा पारित गरिएको हो।


सभामा गाउँपालिका उपाध्यक्ष अमृता लामाले बजेट प्रस्तुत गरेकी थिइन्। प्रस्तुत बजेटमध्ये चालु खर्चतर्फ १७ करोड ४२ लाख ५२ हजार र पुँजीगत खर्चतर्फ १६ करोड ४० लाख १ हजार ६ सय ३२ रुपैयाँ विनियोजन गरिएको छ।
सभामा बोल्दै निमित्त प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र ऐडीले आगामी वर्षको बजेट दीर्घकालीन विकासका दृष्टिले महत्त्वपूर्ण हुने बताए। उनका अनुसार पूर्वाधार विकासतर्फ ११ करोड १८ लाख रुपैयाँ, आर्थिक क्षेत्रतर्फ२ करोड ६६ लाख १९ हजार रुपैयाँ, शिक्षातर्फ ६ करोड ८१ लाख रुपैयाँ,स्वास्थ्यतर्फ २ करोड ११ लाख रुपैयाँ सगै अन्य विविध क्षेत्रहरूमा बाँकी रकम विनियोजन गरिएको छ।
यससँगै गाउँसभाले विनियोजन ऐन २०८२, आर्थिक ऐन २०८२ र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०८२ समेत पारित गरेको छ।
गाउँपालिका अध्यक्ष नारासिँह रोकायाले हाल जगदुल्ला छिमेकी पालिकाहरूसँग सडक ट्रयाकमार्फत जडान भइसकेको र अब आन्तरिक पूर्वाधार निर्माणतर्फ केन्द्रित भएर बजेट विनियोजन गरिएको बताए। उनले चालु आर्थिक वर्षभित्र पालिकाको प्रमुख प्रशासकीय भवन निर्माण सम्पन्न भइसकेको र अब ५ वटा वडाका भवनहरू निर्माणको चरणमा रहेको जानकारी दिए। बाँकी १ वडा कार्यालय भवन पनि आगामी आर्थिक वर्षमा निर्माण प्रक्रिया अघि बढाइने अध्यक्ष रोकायाले बताए।











