सुर्खेत । सुर्खेतको बराहताल गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रममा युवामुखी र जनकल्याणकारी योजना समावेश गरेको छ ।
पालिकाले गाउँपालिकामा रहेका योग्य र शिक्षित युवाहरूका लागि ‘निःशुल्क लोकसेवा आयोगको पूर्वतयारी कक्षा सञ्चालन’ गर्ने घोषणा गरेको हो । पालिकाका अध्यक्ष भिम भण्डारीले आगामी आवमा गाउँमै रहेका युवाहरूले अवसर पाउन तथा सक्षम जनशक्ति तयार पार्नका लागि पूर्वतयारी कक्षा निःशुल्क रूपमा सञ्चालन गरिने जानकारी दिए । त्यस्तै डाक्टर, इञ्जिनियर र चार्टर्ड एकाउन्टेन्ट पढ्न चाहने तर आर्थिक अवस्था कमजोर भएकाहरूका लागि निश्चित शर्तसहित छात्रवृत्ति कार्यक्रम सञ्चालन गरिने उनको भनाइ छ ।


उनकाअनुसार पालिकाले ‘उज्यालो बराहताल’ अभियान’लाई सार्थक बनाउने उद्देश्यले पालिकाका सबै बस्तीहरूमा क्रमशः विद्युत विस्तार गरिने योजनालाई प्रथामिकता दिएको छ ।
यस्तै, ‘सुरक्षित नागरिक आवास कार्यक्रम’ अन्तर्गत ‘खरको छाना मुक्त गाउँ’ निर्माण, ‘एक घर, एक सीप’ अभियान अन्तर्गत प्रत्येक परिवारका कम्तीमा एक सदस्यलाई स्वरोजगारमूलक तालिम प्रदान गरिने गाउँपालिकाको दाबी छ । ‘एक घर, एक धारा’, ‘पूर्ण सरसफाई उन्मुख पालिका’ घोषणालाई सफल बनाउन विविध जनचेतनामूलक गतिविधिहरू समेत सञ्चालन गरिने जनाइएको छ ।











