पूर्ण सार्की/ डोल्पा:वर्षायाममा सम्भावित प्राकृतिक विपद् र सतर्कतालाई मध्यनजर गर्दै डोल्पा जिल्लामा सवारी आवागमनमा प्रतिबन्ध लगाइएको छ। अत्याधिक वर्षा र पहिरोका कारण सडक अबरुद्ध हुन थालेको तथा खोलामा पानीको बहाव बढेको कारण जिल्ला प्रशासन कार्यालय डोल्पामा जिल्ला सुरक्षा समितिको असार १४ गते बसेको बैठकले सवारी सञ्चालनमा कडाइ गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय डोल्पाले जानकारी दिएको छ।
जिल्ला सुरक्षा समिति निर्णय अनुसार जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका–१ स्थित छलगार्ड खोलामा अस्थायी पुल नहुँदा जोखिम बढेको भन्दै सो क्षेत्रमा वर्षायामभरि सवारी आवतजावतमा पूर्णरुपमा रोक लगाइएको छ। साथै, वर्षायामको बेला रातिको समयमा जोखिम अझ बढी हुने भएकाले सम्पूर्ण जिल्लाभर अत्यावश्यक बाहेक अन्य सवारीसाधनहरू साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालनमा समेत प्रतिबन्धित लगाइएको जिल्ला प्रशासन कार्यालय डोल्पा सूचना मार्फत जानकारी दिएको छ।



जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा सम्बन्धित सबैलाई मौसमको पूर्वजानकारी लिएर मात्र यात्रा गर्न तथा आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।
प्रशासनले वर्षायामको समयमा जिल्ला भित्रका बिभिन्न स्थान–स्थानमा पहिरो, खोला तथा सडक अबरुद्ध हुने सम्भावना उच्च रहेको भन्दै सर्वसाधारणलाई सावधानी अपनाउन आग्रह समेत गरेको छ।
डोल्पा राष्ट्रिय सडक सञ्जाल संग जोडिएको वर्षौ बिती सक्दा समेत भेरिकरिडोरको जाजरकोट- डोल्पा सडक खण्ड भित्र पर्ने खोला नालाहरुमा पक्की पुल, बेलिब्रिज नबन्दा तथा यहाँका सडक खण्डको समयमै उचित मर्मत तथा विस्तार नहुँदा डोल्पाका नागरिकले वर्षेनी यस्तो शास्ती खेप्दै आइरहेका छन्।










