पूर्ण सार्की/सुर्खेत: नक्कली नोट र लागुऔषध अफिमको कारोबारमा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेत तथा कोहलपुर इलाका प्रहरी कार्यालयको संयुक्त अपरेसनमा १३ लाख बराबरका खोटा नोट र ३० किलो ६७२ ग्राम अफिम जस्तो देखिने गिलो पदार्थसहित पाँच जना पक्राउ परेका हुन्।



मंगलबार जिल्ला प्रहरी कार्यालय सुर्खेतले पत्रकार सम्मेलन गर्दै जाजरकोटको कुशे गा.पा ५की २२ वर्षीय दिलमाया सिंह ठकुरी, त्यस्तै सोही ठाउँका ३३ वर्षीय रामबहादुर सिंह , जाजरकोटकै हाल सुर्खेतको भेरीगंगा नगरपालिका १२ बस्ने ३५ वर्षीय कृष्ण बहादुर वली , सोही ठाउँका ३८ वर्षीय प्रेम बहादुर वि. क र कालिकोटको नरहरिनाथ गाउँपालिका वडा नं ४ घर भै हाल बाँकेको कोहलपुर नगरपालिका वडा नं ११ न्युरोडमा जनगर्जन नेटवर्क प्रा.लि नामक मीडिया सञ्चालन गरी बसेका ३४ वर्षीय मन बहादुर सहकारीलाई सार्वजनिक गरेको छ।

पक्राउ परेकाहरूको साथबाट १३०० थान नेपाली हजार दरका नक्कली नोट र २६ पोका लागूऔषध (अफिम जस्तो देखिने) पदार्थ बरामद गरिएको प्रहरीले मंगलबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो।
२०८२ साल असार ३० गते दिउँसो १:३० बजेको समयमा प्रहरीले प्राप्त गोप्य सूचनाका आधारमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० शान्तिटोलस्थित डेरामा बस्दै आएकी जाजरकोट कुशे गाउँपालिका–५ की २२ वर्षीया दिलमाया सिंह ठकुरीलाई नक्कली नोटसहित नियन्त्रणमा लिएको हो। उनको साथबाट तत्कालै ६ हजार रुपैयाँ नक्कली नोट फेला पारिएको थियो।
सोही दिन साँझ ६ बजे दिलमाया र रामबहादुर कै डेरामा प्रहरीले थप छापा मार्दा हजार दरका १२३६ थान नक्कली नोट, जम्मा १२ लाख ३६ हजार रुपैयाँ बरामद भएको थियो।
अनुसन्धान कै क्रममा असार ३१ गते राति साढे ८ बजे, प्रहरीले जाजरकोटकै कृष्णबहादुर र प्रेमबहादुर लाई सुर्खेत भेरीगंगा–१२ स्थित डेराबाट पक्राउ गर्यो। उनीहरूको कालो झोलाभित्र लुकाइएको ११ पोका अफिम जस्तो गिलो पदार्थ फेला पारिएको थियो, जसको तौल ११ किलो ३७२ ग्राम रहेको छ।
सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक मोहनजंग बुढथापाका अनुसार प्रहरीले थप अनुसन्धानका क्रममा असार ३१ गते बिहान बाँकेको कोहलपुर–११ स्थित ‘जनगर्जन नेटवर्क प्रा.लि.’ मिडिया हाउसमा छापा मार्यो। मिडिया सञ्चालक मनबहादुर पक्राउ परेका छन्।
उनको कार्यस्थल र निवासको खानतलासी गर्दा प्लास्टिकको १५ पोका भित्र १९ किलो ३०० ग्राम लागुऔषध (अफिम) जस्तो गिलो पदार्थ, ५१ हजार रुपैयाँ नक्कली नोट र नोट छपाइका उपकरणहरू क्यानन प्रिन्टर, कम्प्युटर, क्यामेरा, कीबोर्ड, माउस, कार्ड र मेमोरी चिप्स , मोबाइल लगायत बरामद गरिएको छ।
प्रहरीका अनुसार पक्राउ परेकाहरूविरुद्ध लागूऔषध, मुद्रा सम्बन्धी कसूर र संगठित अपराध अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान थालिएको छ। अनुसन्धान अझै जारी रहेको र थप संलग्न व्यक्तिहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ।











