पूर्ण सार्की/सुर्खेत। कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको बुलबुले चोकको आडैमा रहेको भिजिट कर्णाली रिसोर्टमा कार्यरत सुरक्षा गार्डमाथि अज्ञात समूहले कुटपिट गरेका छन्। शनिबार साँझ करिब ६ बजे वीरेन्द्रनगर नगरपालिका ९ का ४२ वर्षीय कविराज विष्टलाई अज्ञात समूहले खुकुरी प्रहार सहित गम्भीर चोट लाग्ने गरी कुटपिट गरेको भिजिट कर्णाली रिसोर्ट प्रा. लिका अध्यक्ष प्रकाश शाहीले जानकारी दिए।



घाइते गार्ड विष्टको हाल प्रदेश अस्पताल, सुर्खेतमा उपचार भइरहेको छ। प्रारम्भिक जानकारीअनुसार, समूहले गार्डलाई रिसोर्टको प्रांगणमै लक्षित गर्दै आ*क्रमण गरेको हो।
घटनापछि आक्रमणकारीहरू फरार भएका छन्।
घटनाको विषयमा जिल्ला प्रहरी कार्यालय सुर्खेतमा जानकारी गराइएको समेत अध्यक्ष शाहिले बताए।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले घटनाको विषयमा अनुसन्धान भइरहेको र दोषीको पहिचान र पक्राउका लागि खोजी कार्य गर्ने जानकारी दिएको छ।











