पूर्ण सार्की/डोल्पा। सदियौंदेखि चल्दै आएको नेपाल–चीनको परम्परागत व्यापारीक सम्बन्ध अन्तर्गत हिमाली जिल्ला डोल्पाको १५ नम्बर अन्तर्गतको मायुम नाका यही साउन २५ गतेदेखि औपचारिक रूपमा खुल्ने भएको छ। कोभिड-१९ महामारीपछि ठप्प बनेको यो नाका अघिल्लो वर्ष पाँच वर्षपछि पहिलोपटक पुनः खोलिएको थियो। यस वर्ष पनि शे–फोक्सुण्डो गाउँपालिकाको उपाध्यक्ष पेम्मा वाङछेन गुरुङले दिएको जानकारी अनुसार, चीनको सिगात्चे काउन्टी अन्तर्गत डोङबा प्रान्तका अधिकारीहरूसँगको बैठकबाट साउन २५ गते नाका खोल्ने निर्णय गरिएको हो।


गत वर्ष साउन १७ गतेदेखि १५ दिनका लागि नाका खोलिएको थियो भने यस वर्ष २० दिनसम्म सञ्चालन गरिने सम्भावना रहे पनि त्यससम्बन्धी आधिकारिक निर्णय आउन बाँकी रहेको उपाध्यक्ष गुरुङले बताए।
कोभिड–१९ अघि डोल्पाका क्याटो र मायुम दुवै नाका खोलिन्थ्यो, तर हाल मायुम नाका मात्र खोलिने गरिएको छ। त्यसमा पनि आवत–जावतका लागि अनिवार्य ‘प्रवेश तथा निकास पास’ (Entry and Exit Card) आवश्यक गरिएको छ। प्रवेश पास नबोक्नेहरूलाई अनुमति नदिइने र अन्य जिल्लाका व्यापारी तथा सर्वसाधारणलाई निषेध गरिएको छ। हातले लेखिएका पासहरूप्रति चीनको स्वचालित सुरक्षा प्रणालीले असहजता झेलिरहेकाले अब QR कोडयुक्त कम्प्युटर प्रिन्टेड प्रवेश पत्र आवश्यक भएको सरोकारवालाले बताएका छन्।
उपाध्यक्ष गुरुङले भने, “हाम्रो नेपालतर्फबाट बजारमा बेच्ने कुनै सामान छैन, १०० प्रतिशत सामान चीनतर्फबाट मात्रै ल्याइन्छ। यसले हरेक वर्ष अर्बौं रुपैयाँ चीनतर्फै बगिरहेको छ।” उनको भनाइमा यो नाका केबल स्थानिय वा प्रादेशिक सरकारको पहलले मात्र सम्भव हुने कुरा नभएर संघीय सरकारको स्पष्ट विदेश नीति र आर्थिक बहस आवश्यक रहेको बताइएको छ।
चीनले आफ्नोतर्फ सडकलगायत अध्यागमन, सुरक्षाकर्मी, र आधुनिक चेकजाँच प्रणाली निर्माण गरिसकेको अवस्थामा नेपालतर्फ भने भन्सार, स्थायी प्रवेशद्वार र सीमा सुरक्षाको स्पष्ट संरचना अभाव रहेकोले ब्यापारिक असन्तुलन भइरहेको जनाइएको छ।
सन २००८ को Beijing Olympic पछि चीनले सीमा क्षेत्रमा सुरक्षा कडाइ गरेपछि त्यहाँको खुला सिमाना बन्द भयो। तर त्यसअघि माथिल्लो डोल्पाका स्थानीयहरू तिब्बत तर्फ रोजगारी गर्न जान्थे भने नोम्याड (डोक्पा) हरू नेपालतर्फको शेल्री डुग्ड्रा तीर्थयात्रामा आउँथे। दुई देशबीच वैवाहिक सम्बन्ध समेत हुने गरेको थियो।
सन् २००८ सम्म माथिल्लो डोल्पाबाट हरेक घरका सदस्यहरू तिब्बततर्फ मजदुरीमा जान्थे। कामको बदलामा भेडा, बाख्रा, चौँरी पाउने चलन थियो। पछि ती पशुहरू तल्लो डोल्पा ल्याएर खाद्यान्नसँग साट्ने परम्परा (Barter System) जीवित थियो।
हालै डोल्पाका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महत र डिएसपी रुकबहादुर खड्काको टोली मायुम नाका पुगेपछि स्थानियहरूमा उत्साह छाएको छ। उनीहरूको अवलोकनबाट प्रशासनले नाकाको अवस्था, आवश्यक पूर्वाधार र सुरक्षाको आवश्यकता प्रत्यक्ष रूपमा बुझ्न सकेको विश्वास गरिएको छ।
ब्यापारिक मेला अवधिमा सुरक्षा व्यवस्थापन अत्यन्तै महत्वपूर्ण रहेको भन्दै स्थानियहरूले सम्भावित तस्करी वा गैरकानुनी गतिविधिका विषयमा गम्भीर चेकजाँचको माग गरेका छन्। एकदुई व्यक्तिका कारण समग्र जनताको बद्नामि नहोस् भन्दै सबैले सचेत रहनुपर्नेमा जोड दिएका छन।
यो मेला यार्सागुम्बा लगायत बहुमुल्य जडिबुटी र दैनिक उपभोग्य वस्तुहरूको आदानप्रदान हुने महत्वपूर्ण अवसर मानिन्छ।










