डोल्पा: आजको मितिबाट रंगिन मीडिया हाउसले सुसूचित र विवेकपूर्ण पत्रकारिताको अभिलाषा बोकेर ‘रंगीनपाटी डट कम’ अनलाइन न्युज पोर्टलको औपचारिक रुपमा सञ्चालन प्रारम्भ गरेको छ।



रंगिन मिडिया हाउसको प्रधान कार्यालय डोल्पा र शाखा कार्यालय कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरबाट मीडिया हाउस सञ्चालन हुने छ।
रंगिनपाटी डट कम कुनै राजनैतिक संघ वा संगठनको मुखपत्र होइन। हामी कुनै शक्ति वा स्वार्थ समूहप्रति होइन, सिर्फ जनताको विश्वासप्रति उत्तरदायी रहने प्रणसहित अघि बढेका छौं।
![]()
हामी विश्वास गर्छौं ,आजको सूचना प्रवाहको युगमा जनताको मन जित्ने र विश्वसनीयता कायम गर्ने मिडिया मात्र दीर्घकालीन बन्न सक्छ। त्यसैले, रंगिनपाटी डट कम सूचना मात्र दिने माध्यम होइन, पाठक, समुदाय र समाजको आवाज बनाउने साझा चौतारी बन्ने लक्ष्य लिएको छ।
निष्पक्ष र तथ्यमा आधारित पत्रकारिता, स्थानीयदेखि अन्तर्राष्ट्रियस्तरको विषयवस्तुमा गहिरो दृष्टिकोण, समावेशी, जवाफदेही र जिम्मेवार मिडिया अभ्यास, सीमान्तकृत आवाजहरूलाई केन्द्रमा ल्याउने, समाज रुपान्तरणमा सशक्त माध्यम बन्ने हाम्रो मुख्य उद्धेश्य रहने छ।
देशभित्रै मात्र नभई, विदेशमा रहेका नेपाली समुदायको सूचना आवश्यकतालाई पनि हाम्रो समाचार, विचार, अन्तर्वार्ता, कथा र विश्लेषणमार्फत सम्बोधन गर्दै जानेछौं। तपाईं जहाँ हुनुहुन्छ, रंगिनपाटी डट कम तपाईंलाई देशको माटोसँग, समाजको स्वरसँग र आम नागरिकको साँचो अवस्थासँग जोड्ने डिजिटल पुल बन्नेछ।
रंगिनपाटी भन्ने नाम आफैंमा बहु–विविधताको प्रतीक हो। यहाँ गाउँका कथा पनि हुनेछन्, शहरका बहस पनि। युवाका जोश पनि हुनेछन्, महिला तथा प्रत्येक नागरिकका मौलिक हकका आवाज पनि।

हामी विश्वास गर्छौं समाजको प्रत्येक रंग, रूप र स्वर एउटै साझा मञ्चमा ल्याउन सकियो भने मात्र समृद्ध, न्याययुक्त र सशक्त राष्ट्र निर्माण सम्भव हुन्छ।त्यही साझा मञ्च हो रंगिनपाटी डट कम।
हामी कुनै एक विचारधाराको प्रचारक होइनौं। हामी जनताको प्रश्नलाई मूल धारमा ल्याउने,पीडालाई प्रकाशमा ल्याउने,
र वास्तविकतालाई निष्पक्ष ढंगले प्रस्तुत गर्ने संकल्पसहित अघि बढेका छौं।हाम्रो सामग्रीमा राजनीति हुनेछ तर निष्पक्ष, सामाजिक मुद्दा हुनेछ तर भेदभाव रहित, कला, साहित्य, विकास, न्याय, लैङ्गिकता, स्वास्थ्य, शिक्षा, स्थानीयता र अन्तर्राष्ट्रिय लगाएतका सबै विषयवस्तु हुनेछ तर जनताको दृष्टिकोणबाट।
‘रंगिनपाटी डट कम’ तपाईंको मञ्च हो। तपाईंका विचार, सुझाव, गुनासो, लेख, सूचना, अनुभूति र आवाज हामीसम्म पुर्याउनुहोस्।हामी त्यो आवाजलाई शब्द, छवि र सत्यको उज्यालोमा प्रस्तुत गर्नेछौं।
पत्रकारिता केवल समाचार लेख्ने होइन,समाजको आवाज सुन्ने,जनता बुझ्ने र परिवर्तनलाई सम्बोधन गर्ने जिम्मेवारी हो।
हामीले यही जिम्मेवारीबाट हाम्रो यात्रा सुरु गरेका छौं।रंगीन मञ्च,समावेशी दृष्टिकोण,सत्यप्रति प्रतिबद्धता,र जनताको मन जित्ने पत्रकारिता-यही हो रंगिनपाटी डट कम।
पूर्ण सार्की/सञ्चालक : रंगिन मीडिया हाउस











