डोल्पा, भदौ ३: हिमाली जिल्ला डोल्पामा बाढीले बगाउँदा एक बालकको मृत्यु भएको छ। डोल्पाको माथिल्लो क्षेत्रमा पर्ने शे–फोक्सुण्डो गाउँपालिका–४ नाम्दोका अन्दाजी ९ वर्षीय बालकको सोमबार दिउँसो मृत्यु भएको हो।


अबिरल वर्षापछि गाउँ नजिकैको खोलामा आएको आकस्मिक बाढीमा परेर ग्याल्छेन लामा र श्रीमती कार्साङ गुरुङका ९ वर्षीय छोरा बगाएको शे–फोक्सुण्डो गाउँपालिकाका उपाध्यक्ष पेमावाङ्छेन गुरुङले जानकारी दिए।
केही दिनदेखि निरन्तर परेको वर्षाले माथिल्लो डोल्पाका विभिन्न खोलानाला र भेगमा बाढी–पहिरोको जोखिम बढेको छ। जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरीक्षक (डिएसपी) रुकबहादुर खड्काका अनुसार घटनाबारे विस्तृत जानकारी लिन कठिन भइरहेको छ। ‘माथिल्लो डोल्पामा रहेका टावर अवरुद्ध भएकाले सञ्चार पहुँच सहज छैन,’ उनले भने।
स्थानियवासीका अनुसार अन्य समय पानीको थोपा समेत नदेखिने सुख्खा खोलामा अचानक आएको बाढीले बालकलाई बगाएको हो। डोल्पाको उच्च हिमाली क्षेत्रमा जलवायु परिवर्तन र अनिश्चित मौसमका कारण मानवीय तथा भौतिक क्षतिको जोखिम बढिरहेको स्थानीयले बताएका छन्।
घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।











