डोल्पा । श्रम तथा उत्पादनमा वाइसियल (YCL) नेपाल अभियान अन्तर्गत डोल्पा जिल्लाको ठुलीभेरी नगरपालिका–१०, परिलास्थित लसुरे भगवानको मन्दिर पुनर्निर्माणमा श्रमदान गरिएको छ ।



नेकपा (माओवादी केन्द्र) निकट युवा संगठन वाईसियल डोल्पा जिल्ला समितिको अगुवाइमा, नेकपा माओवादी केन्द्र जिल्ला पार्टी र स्थानीयवासीको सक्रिय सहभागिता सहित मन्दिरको निर्माण कार्यको सुरुवात गरिएको वाइसियलका डोल्पा इन्चार्ज देबिसर बूढाले जानकारी दिए।

सोमबार दिनभर श्रमदानमार्फत मन्दिरको मर्मत तथा निर्माण कार्य अगाडि बढाइएको इन्चार्ज बूढाले जानकारी दिए।
परिलाका स्थानीयवासीले लसुरे भगवानलाई आफ्नो आस्था र भरोसाका देवताका रूपमा लिने भएकाले मन्दिर पुनर्निर्माणलाई विशेष महत्व दिइएको बताइएको छ ।
वाईसियलले भत्किएका धार्मिक, सामुदायिक तथा सार्वजनिक संरचना मर्मत र निर्माणमा जिल्लाका विभिन्न स्थानमा श्रम तथा उत्पादनमा वाइसियल अभियान चलाइरहेको छ ।
यही अभियानकै क्रममा भर्खर मात्रै वाइसियलले मुड्केचुला गाउँपालिका वडा नं ३ स्थित खर्कमा बाटो मर्मत गरेको थियो।
मुड्केचुलामा भने नेकपा माओवादी केन्द्र मुड्केचुला गाउँ कमिटीले आईतबार देखि प्रत्येक वडामा एक दिन श्रमदानको अभियान चलाइरहेको छ।











