सुर्खेत: सुर्खेतमा लोकसेवाको परीक्षामा सहभागी नक्कली परीक्षार्थीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बुधबार बिहान लोकसेवा आयोग सुर्खेत कार्यालयमा सञ्चालन भइरहेको संचार/इन्जिनियर प्राविधिक प्रहरी जवान परीक्षा दौरान चार जना नक्कली परीक्षार्थीलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले नियन्त्रणमा लिएको हो।


जिल्ला प्रहरी कार्यालय देखि खटिएको प्रहरी टोलीले प्रवेश पत्र र नागरिकता प्रमाणपत्रमा फोटो परिवर्तन गरी सट्टामा परीक्षा दिन आएका चार जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता मोहन जंग बुढथापाले जानकारी दिए। पक्राउ परेकामध्ये दुई जनाको मात्रै विवरण सार्वजनिक गरिएको छ।
पक्राउ परेका मध्ये जाजरकोटको कुशे गाउँपालिका–७, सामाकोट बस्ने २५ वर्षीय श्याम संकर सिंहलाई जाजरकोट कै छेडागाड नगरपालिका–१२ बस्ने धर्मराज चनराको सट्टामा र दैलेखको भगवतीमाई गाउँपालिका वडा नम्बर ७ बस्ने २० वर्षीय भरत तिरुवालाई सोही पालिकाका वडा नं ५ बस्ने सुशिल शाहीको सट्टामा परीक्षा दिँदै गर्दा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ।
प्रहरीका अनुसार, पक्राउ परेकाहरूविरुद्ध लिखत तथा किर्ते कसुरमा अनुसन्धान जारी रहेको छ। बाँकी दुई नक्कली परीक्षार्थीको विवरण भने हालसम्म सार्वजनिक गरिएको छैन।












