सुर्खेत: कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले हालसालै दिएको ‘अब कुनै पनि सरकारी कार्यक्रम होटलमा नगर्ने’ भन्ने अभिव्यक्तिप्रति होटल व्यवसायी संघ सुर्खेतले आपत्ति जनाएको छ ।
संघले बिहीबार सुर्खेतमा पत्रकार सम्मेलन गर्दै कर्णालीका मुख्यमन्त्रीले कर्मचारीलाई समेत यस्तो निर्देशन दिएको भन्दै होटल व्यवसायीहरूले ती अभिव्यक्ति आपत्तिजनक, निरुत्साहजनक र गैरजिम्मेवारपूर्ण भएको बताएको छ।


पत्रकार सम्मेलन मार्फत होटल व्यवसायी संघ सुर्खेतकी अध्यक्ष प्रतिभा वलीले मुख्यमन्त्रीको अभिव्यक्तिले महामारीका कारण लामो समयदेखि संकटमा परेको होटल व्यवसायलाई थप मर्कामा पार्ने बताइन्। उनले कोरोनापछि व्यवसायी अझै ऋण र घाटाबाट मुक्त हुन नसकेको बेला यस्तो संवेदनशील अभिव्यक्तिले लगानीकर्ता र व्यवसायी निराश बनेको समेत बताइन् ।
संघले मुख्यमन्त्रीलाई उक्त अभिव्यक्ति तत्काल फिर्ता लिन माग गर्दै प्रदेशभित्र व्यवसायमैत्री वातावरण निर्माण गर्न आग्रह गरेको छ । साथै होटल तथा पर्यटन व्यवसायलाई संरक्षण, प्रवर्द्धन र प्रोत्साहन गर्ने नीतिगत व्यवस्था मिलाउन सरकारलाई दबाब समेत दिएको छ ।
यसैगरी संघले हाल नेपालगञ्जबाट मात्रै सञ्चालन हुँदै आएको कैलाश मानसरोवर हवाई यात्रालाई सुर्खेत विमानस्थलबाटै सुरु गर्ने वातावरण बनाउन सरकारसँग माग गरेको छ । यसले धार्मिक पर्यटनसँगै कर्णालीको होटल र पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पार्ने संघको विश्वास छ ।
व्यवसायीहरूले सरकारले विगतमा हवाई यातायातमा सहुलियत दिने नीति, कार्यक्रम र बजेटमा व्यवस्था गरे पनि व्यवहारमा त्यसको कार्यान्वयन नभएकाले पर्यटक आगमन घट्दै गएको र होटल व्यवसाय थप क्षतिग्रस्त बनेको गुनासो गरेका छन् ।
होटल व्यवसायी संघले राज्यमा ठूलो लगानी गरेका होटल व्यवसायीलाई निरुत्साहित गर्ने अभिव्यक्ति दिनु खेदजनक भएको उल्लेख गर्दै, होटलमैत्री कार्यक्रम ल्याई पर्यटन प्रवर्द्धन गर्ने र कर्णालीमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने वातावरण निर्माण गर्न सरकारसँग अपिल गरेको छ ।
यस विषयमा होटल व्यवसायी संघ कर्णाली प्रदेशका अध्यक्ष तर्कबहादुर शाहीले पनि मुख्यमन्त्रीको अभिव्यक्तिले व्यवसायीलाई अप्ठ्यारो पारेको बताए । उनले संकटमा परेको होटल क्षेत्रलाई सहयोग गर्नुको सट्टा निरुत्साहित गर्ने अभिव्यक्ति आउनु दुःखद भएको बताए ।











