पूर्ण सार्की/डोल्पा: हिमाली जिल्ला डोल्पाको मसिनेचौर विमानस्थल अझै सञ्चालनमा आउन सकेको छैन। डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका ७ पाहाडामा पर्ने मसिनेचौर विमानस्थल निर्माण कार्य सम्पन्न भएको वर्षौ बिती सक्दा समेत संचालन आउन सकेको छैन।



२०५१ सालमा तत्कालिन जिल्ला विकास समितिका सभापति ओम बहादुर बुढाले शिलान्यास गरेको विमानस्थल त्यस यता आवश्यक पूर्वाधार सबै बनीसकेका छन।
त्यहाँका नागरिकले विमानस्थल निर्माणको लागि प्रति रोपनी १७ हजारका दरले जग्गा दान गरे। जग्गा प्राप्ति सगै विमानस्थलको शिलान्यास भयो। शिलान्यास भएको झण्डै एक वर्ष पछि विमानस्थलको निर्माण प्रक्रिया सुरु गरियो।
विमानस्थल बनेको वर्षौ सम्म कच्ची धावन मार्गमा मात्र सीमित भयो। यो बीचमा केही पटक नेपालका निजी वायुसेवा निगमका जहाजले उडान समेत भरीसकेका थिए।

कच्ची धावनमार्ग भएको वर्षौ पछि विमानस्थलको धावमार्ग पक्की बनाउन सुरु गरियो र २०७८ सालमा निर्माणकार्य पूरा भयो ।
मसिनेचौर विमानस्थल बनाउन मात्रै २८ करोड ६० लाख खर्च भएको छ। ५ वर्षअघि मात्रै धावनमार्ग कालोपत्रे गर्ने काम सकिएको थियो। नागरिक उड्डयन प्राधिकरण काठमाडौंंका अनुसार २०५२ साल यता एयरपोर्ट निर्माणका लागि राज्यको २८ करोड ६० लाख खर्च भएको छ। प्राधिकरणका अनुसार अनुसार एयरपोर्ट कालोपत्रेका लागि मात्रै २५ करोड खर्च भएको छ। बाँकी रकम टर्मिनल भवन, सुरक्षा भवन, घेराबार, खानेपानी, कर्मचारी निवास निर्माणमा खर्च भएको छ।अहिले विमानस्थल बनेको ३२ वर्ष भइसकेको छ। तर विमानस्थलले जहाज अझै देख्न पाएको छैन।

तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले मसिनेचौर विमानस्थलमा परीक्षण उडानको मिति तोक्दै दुई पटक फेसबुकमा पोस्ट समेत गरे। पहिलो पोस्टमा १३ भदौमा डोल्पाको मसिनेचौर विमानस्थलमा परीक्षण उडान गर्ने भन्दै जानकारी गराए। झन्डै तीन वर्षअघि नै सञ्चालनको तयारीमा रहेको विमानस्थल सञ्चालनमा आउने भयो भन्दै डोल्पाका जनप्रतिनिधिदेखि सर्वसाधारणमा खुसीको सीमा नै रहेन। सबैले जनप्रिय मन्त्री भन्दै गुणगान गाए र मिति नै तोकेकोमा धन्यवादसमेत दिए।

जब १३ भदौ आयो मन्त्रीले भने जस्तै गरी परीक्षण उडान हुन सकेन। मन्त्री आफैंले फेसबुकमा दोस्रो पोस्ट गर्दै एक महिना सारेर १३ असोजमा परीक्षण उडानका लागि मिति सारे। त्यसबेला बुवाको निधन भएपछि मिति सारिएको भन्दै फेसबुकमै लेखे। डोल्पालीले दुःखद् घडीमा कुनै प्रश्न गरेनन्।

अर्को मिति १३ असोज कुरी बसे। जब समय आयो त्यो बेला पनि परीक्षण उडान हुन सकेन। मसिनेचौर सगै परीक्षण उडान गर्ने भनिएको कालिकोटको सुनाथराली विमानस्थलमा परीक्षण उडान भयो तर मसिनेचौरलाई भने नजरअन्दाज गरियो।
किराँती मन्त्री हुँदा चर्चाको आएको मसिनेचौर अहिले गुमनाम छ। डोल्पाका सरोकारवाला निकायहरुले बारम्बार झकझकाई रहेपनि अहिले सरकारले नजरअन्दाज गरिरहेको छ। विमानस्थल सञ्चालनमा ल्याउन कौडीको भरमा जग्गा दान दिएका स्थानीय आक्रोशित छन्।

निर्माण कार्य पूरा भएको लामो समय बितिसक्दा पनि जहाज नआएपछि राज्यको करोडौं लगानी भएको मसिनेचौर विमानस्थलका भौतिक संरचना जीर्ण बन्न थालेका छन्। टर्मिनल भवनको सिसा फुटेको छ भने भवनका भित्ताहरू पनि पुराना हुन थालेका छन्। विमानस्थल क्षेत्रको सुरक्षाका लागि लगाइएको घेराबारसमेत भत्किएको छ।
संरक्षण नहुँदा तारजाली लगाइएको फलामका एंगल नै धेरै ठाउँमा ढलेका छन् भने केही ठाउँमा भाँचिएको समेत पाइएको छ। जहाज अवतरणका लागि बनाइएको विमानस्थलको धावनमार्ग मान्छे र पशुबस्तुको आउजाउ गर्ने बाटो लगायत खेलकुद मैदानमा परिणत भएको छ।

धावनमार्गभरि पशुबस्तु दिसापिसाब गरेर फोहोर बनाएका छन्। राज्यले जतिसक्दो छिटो एयरपोर्ट सञ्चालनमा नल्याए राज्यको करोडौं लगानी त्यसै खेर जाने डोल्पाका सरोकारवालाको बुझाइ छ।

मसिनेचौर विमानस्थल कच्ची अवस्थामा हुँदा भने परीक्षण उडान भएको थियो। आजभन्दा १२ वर्षअगाडि परीक्षण उडान गरिएको थियो। २०७० साल भदौमा सिंगल इन्जिन गरेको नाइन एजेजी कल साइनको मकालु एयरलाइन्सले सफल रूपमा परीक्षण गरेको हो।
नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशकसहित भएर वरिष्ठ प्रशिक्षक विमान चालक तेन्जिङ लामाले जहाज अवतरण गराएका थिए। परीक्षण उडान सफल भएपछि चार–पाँच महिना मकालु, गोमा, काष्ठमण्डप लगायतका एयरलाइन्सले उडान गरेका थिए। कच्ची हुँदै सफल परीक्षण उडान भएर सञ्चालनमा आएको मसिनेचौर विमानस्थलमा कालोपत्रे भइसकेपछि भने परीक्षण उडान हुन सकेको छैन।











