डोल्पा : हिमाली जिल्ला डोल्पामा राष्ट्रिय विद्युत प्रशारण लाइन अन्तर्गत जाजरकोटको चौखा सब-स्टेशन मार्फत स्थायी रूपमा विद्युत आपूर्ति सुरु भएको छ।
३३/११ केभि क्षमताको चौखा सब- स्टेशन अन्तर्गत ११ केभी क्षमताको राष्ट्रिय विद्युत प्रशारण लाइन डोल्पामा शुक्रबार देखि औपचारिक रूपमा विद्युत आपूर्ति सुरु भएको नेपाल विद्युत प्राधिकरण डोल्पाका सूचना अधिकारी ध्रुव विश्वकर्माले जानकारी दिए।


जाजरकोटको चोैखा सब-स्टेसनमार्फत डोल्पामा पूर्ण रूपमा विद्युत आपूर्ति सञ्चालनमा आए सगै डोल्पामा विगतमा बारम्बार देखिने लाइन अबरुद्ध हुने समस्या अब न्यून हुने अपेक्षा गरिएको छ।
डोल्पालाई राष्ट्रिय विद्युत प्रशारण लाइन सग जोडिएको वर्षौ अघि घोषणा गरिएपनि डोल्पाबासीले राम्रो संग विद्युत प्रयोग गर्न पाएका थिएनन्।
पहिला रुकुम पश्चिमको खलंगा देखि लामो दूरी पार गर्दै राष्ट्रिय प्रसारण लाइन ग्रिडमा जोडिएको थियो। लामो दूरी पर्दा बारम्बार डोल्पामा विद्युत अवरुद्ध हुने र मर्मतको लागी समेत निकै झन्झट हुने गरेको प्राधिकरणका सूचना अधिकारी विश्वकर्माले बताए।
चौखा सब- स्टेशन मार्फत ३३/११ केभिको विद्युत लाईन सग जोडिए सगै अब भने डोल्पाबासीले स्थिर रूपमा विद्युत सेवा पाउने र छोटो दूरीका कारण विद्युत सेवा अवरुद्ध हुँदा चाँडो मर्मत गर्न सकिने नेपाल विद्युत प्राधिकरण डोल्पाले जानकारी दिएको छ।
विद्युत प्राधिकरणका अनुसार, नयाँ लाइन सञ्चालनमा आएपछि डोल्पाका उपभोक्ताले अब लगातार र स्थिर विद्युत आपूर्ति पाउने भएका छन्, जसले स्थानीय व्यवसाय, सेवा सुविधा र दैनिकी जीवनमा सहजता ल्याउने छ।
चौखा सब- स्टेशन मार्फत डोल्पामा विद्युत सेवा विस्तारका लागि आवश्यक समन्वयको भुमिका खेल्ने सबै सरोकारवाला निकाय, नेपाल विद्युत प्राधिकरण प्रादेशिक कार्यालय ,जाजरकोट वितरण केन्द्र, रुकुम पश्चिम वितरण केन्द्र, प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहकार्य र समन्वय गर्ने कर्मचारी,जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि तथा ग्राहकवर्गलाई नेपाल विद्युत प्राधिकरण डोल्पा वितरण केन्द्रले धन्यवाद समेत व्यक्त गरेको छ।
सरकारले डोल्पालाई राष्ट्रिय विद्युत प्रशारण लाइन सग जोडिएको घोषणा गरेपनि अझै डोल्पाका नागरिक विद्युत सेवाको अभावमा अन्धकारमा बस्न बाध्य छन्।
चौखा सब- स्टेशन मार्फत विद्युत सेवा आपूर्ति सञ्चालनमा आए सगै नेपाल विद्युत प्राधिकरण डोल्पा वितरण केन्द्रले डोल्पाका नागरिकलाई विद्युत सेवा जोड्न जानकारी गराएको छ।











