डोल्पा। हिमाली जिल्ला डोल्पामा प्रतिनिधित्व गर्ने प्रमुख चार ठूला दलले संयुक्त विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जाल बन्देजविरुद्ध भएको जेन-जी आन्दोलनमा सहादत प्राप्त युवाप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।
नेकपा माओवादी केन्द्र, नेकपा एमाले, नेकपा एकीकृत समाजवादी र नेपाली कांग्रेस डोल्पा जिल्ला कार्य समितिहरूको बैठकले राजधानी काठमाडौंसहित देशका विभिन्न स्थानमा भाद्र २३ र २४ गते भएको आन्दोलनमा ज्यान गुमाएका सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ। साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरिएको छ।


दलहरूले विज्ञप्ति मार्फत आन्दोलनमा घुसपैठ भएको दाबी गर्दै देशभर सरकारी तथा व्यक्तिगत संरचनामा भएको क्षतिको दुःख व्यक्त गरेका छन् र त्यसप्रति घोर भर्त्सना गरेका छन्। विज्ञप्तिमा घटनाको सत्यतथ्य छानबिनका लागि उच्चस्तरीय न्यायिक छानबिन समिति तत्काल गठन गर्न माग गरिएको छ।
संयुक्त विज्ञप्तिमा भनिएको छ ‘जेन-जी आन्दोलनलाई बहाना बनाएर प्रतिगामी शक्तिहरू सक्रिय हुने अवस्था देखिएकोले अहिलेको विषम परिस्थितिमा सम्पूर्ण लोकतान्त्रिक दलहरूले शान्ति, संवाद र संयमता अपनाउँदै संविधान, लोकतन्त्र, गणतन्त्र, समानुपातिक समावेशीता र संघीयताको रक्षा गर्न एकताबद्ध भएर अघि बढ्न जरुरी छ।’
दलहरूले सात दशकभन्दा लामो संघर्ष र बलिदानबाट प्राप्त उपलब्धिहरू गुम्न नदिनु लोकतन्त्र प्रेमीहरूको जिम्मेवारी भएको उल्लेख गर्दै मुलुकलाई संवैधानिक बाटोबाट निकास दिन सरकार तत्काल गठन हुनुपर्ने जोड दिएका छन्। यसका लागि राष्ट्रपति समक्ष पहल गर्न पनि अनुरोध गरिएको छ।
चार दलले हालको अस्थिर परिस्थितिबाट विचलित नहुन सबै नागरिकलाई आग्रह गर्दै धैर्यता, संयमता र सहिष्णुताको अभ्यासमार्फत लोकतन्त्र, मानवअधिकार र नागरिक सर्वोच्चता कायम राख्न सम्पूर्ण संविधान पक्षधर डोल्पाबासीलाई आह्वान समेत गरेका छन्।
हेर्नुहोस् विज्ञप्ति












