पूर्ण सार्की/सुर्खेत : कर्णाली प्रदेश सभा सचिवालयले सार्वजनिक सम्पत्ति चोरी तथा लुटपाटमा संलग्नहरुको खोजीकार्य सुरु गरेको छ।
गत भाद्र २४ गते मंगलबार भएको जेन- जी समूहको आन्दोलनको क्रममा सिर्जित विषम परिस्थितिको फाइदा उठाउँदै स्थानिय समूहहरुले कर्णाली प्रदेशसभा र सचिवालयबाट सार्वजनिक सम्पत्ति लुटपाट तथा चोरी गरेको कुराको जानकारी प्राप्त भएकोले सचिवालयले सम्बन्धित व्यक्तिहरूको पहिचान र खोजी कार्य सुरु गरेको जनाएको छ।


प्रदेश सभा सचिवालयले सूचना निकाल्दै सभा र सचिवालयबाट आन्दोलनको फाइदा उठाई सार्वजनिक सम्पत्ति हिनामिना गर्ने, लुटपाट गर्ने तथा चोरीमा संलग्न व्यक्तिहरूलाई पहिचान गरी कानुनी कारबाही अगाडि बढाउने तयारी गरेको छ।
उक्त दिनको आन्दोलनको क्रममा सभा तथा सचिवालयमा भएको तोडफोड, आगजनी, लुटपाट वा चोरीको समयमा फोटो वा भिडियो खिचेको वा त्यस्ता सामग्रीहरु सम्बन्धित व्यक्तिहरूबाट फेला परेका वा पहुँच भएको खण्डमा नजिकको प्रहरी कार्यालय अथवा कर्णाली प्रदेश सभा सचिवालयलाई ईमेलमार्फत् ([email protected]) उपलब्ध गराउन समेत प्रदेशसभा सचिवालयले अनुरोध गरेको छ।
सचिवालयले सूचना मार्फत अनुसन्धानको लागि फोटो , भिडियो लगाएतका सामग्री पठाई सहयोग गर्ने व्यक्तिहरूको परिचय भने पूर्ण रूपमा गोप्य राख्ने छ।
सचिवालयले प्रदेश सभा भित्रबाट लगेका सामाग्री नजिकको प्रहरी कार्यालय वा प्रदेश सभामा सम्पर्क गरी बुझाउन अनुरोध पनि गरेको छ। जेन- जी पुस्ताले गरेको प्रदर्शनका क्रममा कर्णाली प्रदेश सभा तोडफोड, आगजानी सगै लुटपाट समेत भएको थियो।
प्रदेश सभा र सचिवालय सगै प्रदेशसभाको मुख्य प्रवेशद्वार मै रहेको एनआइसी एसिया बैंकको एटिएम मेसिनमा समेत आगजनीमा सगै एटीएम भित्र रहेका लाखौं रुपैयाँ लुटपाट गरिएको थियो।
सूचना हेर्नुहोस्..












