डोल्पा: डोल्पाको ठुलिभेरी नगरपालिका–३ मा पर्ने नेपाल आर्मीको सुलिगाड चेकपोष्टमा कार्यरत एक नेपाली सेनाका जवानले मादक पदार्थ सेवन गरी सर्वसाधारणमाथि कुटपिट गरेको आरोप लागेको छ। कुटपिटबाट एक जना युवा घाइते भएका छन्।
घटना पुस ३ गते बेलुकी करिब साढे ६ बजे भएको हो। संग्राम सार्दुल गुल्म, सुलिगाडमा कार्यरत सुरज भनिने नेपाली सेनाका जवानले ठुलिभेरी नगरपालिका–६ निवासी ओमप्रसाद रोकायालाई कुटपिट गरेको पीडित पक्षको आरोप छ।


पीडित रोकायाका अनुसार सुलिगाड चेकपोष्टमा गाडी चेकजाँच भइरहेको अवस्थामा दुनैबाट मादक पदार्थ सेवन गरी आएका ती सैनिक जवानले बिना कारण उनलाई गाडीबाट बाहिर निकालेर कुटपिट गरेका थिए । कुटपिटका क्रममा “मारिदिन्छु” भन्दै ज्यान मार्ने धम्कीसमेत दिएको पीडितको भनाइ छ।
कुटपिटबाट रोकायाको दायाँ घुँडा, हात र कम्मर (वङ्गारा) मा गम्भीर चोट लागेको छ। जिल्ला अस्पताल डोल्पामा प्रारम्भिक उपचारपछि थप उपचारका लागि उनलाई जिल्ला बाहिर रिफर गरिएको छ। ज्यान जोखिममा परेको भन्दै उपचार र सुरक्षाको मागसहित उनले जिल्ला प्रहरी कार्यालय डोल्पामा निवेदन दिएका छन्।
घटनासँग सम्बन्धित भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भइसकेको छ।
घटनापछि सुलिगाडस्थित संग्राम सार्दुल गुल्म गुल्मपति हरीश शाहीले उनलाई कारबाहीको प्रक्रियामा लगिएको र घाइतेको सम्पूर्ण उपचार खर्च आरोपित सैनिकले नै व्यहोर्ने बताएका छन् ।
यस विषयमा जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख डिएसपी रुकबहादुर खड्काले मादक पदार्थ सेवन गरी कुटपिट गर्ने सैनिक जवानविरुद्ध पीडितको निवेदन परेको पुष्टि गरे।
डिएसपी खड्काका अनुसार कुटपिटबाट घाइते रोकायाको सम्पूर्ण उपचार खर्चसमेत सम्बन्धित सैनिक जवानले नै व्यहोर्ने गरी नेपालगन्ज रिफर गरिएको छ।











