डोल्पा । कर्णाली प्रदेश सरकारले शिक्षा क्षेत्रमा उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै डोल्पाका तीन जना शिक्षकलाई सम्मान गरेको छ।
सामाजिक विकास मन्त्रालय अन्तर्गतको शिक्षा विकास निर्देशनालय, सुर्खेतले आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत कार्यक्रमअनुसार शिक्षा क्षेत्रमा लगनशील, कार्यनिष्ठ र उत्कृष्ट सेवा पुर्याएका शिक्षकहरूलाई नगद पुरस्कारसहित सम्मान गरेको हो।
सम्मानित हुने शिक्षकहरूमा जिल्लाको जगदुल्ला गाउँपालिका–२ स्थित त्रिपुरा साधारण तथा प्राविधिक माध्यमिक विद्यालय, काइगाउँका प्रधानाध्यापक जयबहादुर बस्नेत, मुड्केचुला गाउँपालिका–६ नर्कुस्थित मालिका माध्यमिक विद्यालयका निम्न माध्यमिक तहका शिक्षक दामोदर ज्ञवाली तथा त्रिपुरासुन्दरी नगरपालिका–१० लिकुस्थित जनप्रभा साधारण तथा प्राविधिक माध्यमिक विद्यालयकी द्वितीय शिक्षिका बुद्धा पहाडी रहेका छन्।


शिक्षा विकास निर्देशनालयले उत्कृष्ट घोषित तीनै शिक्षकलाई जनही ३५ हजार रुपैयाँ नगद पुरस्कार तथा प्रशंसापत्र प्रदान गरी सम्मान गरेको जनाएको छ।
सम्मानित शिक्षकहरूले आफ्नो कार्यको उच्च मूल्याङ्कन गर्दै प्रदेश सरकारले गरेको सम्मानले थप जिम्मेवारी बोध गराउनुका साथै आगामी दिनमा अझ उत्कृष्ट कार्य गर्न प्रेरणा मिलेको बताएका छन्।
शिक्षा क्षेत्रमा गुणस्तरीय सेवा प्रवाह, शैक्षिक सुधार तथा विद्यार्थीको सिकाइ उपलब्धिमा योगदान पुर्याउने शिक्षकहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रदेश सरकारले हरेक वर्ष उत्कृष्ट शिक्षक छनोट गरी सम्मान गर्दै आएको छ।











