सुर्खेत । हिमाली जिल्ला डोल्पाबाट वैदेशिक रोजगारीमा जानेको संख्या उल्लेख्य रूपमा बढेको छ। आर्थिक वर्ष २०८१/८२ मा मात्र डोल्पाबाट ६८८ जनाले वैदेशिक रोजगारीमा जानको लागि श्रम स्वीकृति लिएको तथ्यांकले देखाएको छ।
स्वदेशमा रोजगारीका पर्याप्त अवसर नहुनु र बढी आम्दानीको आशामा नागरिकहरू वैदेशिक रोजगारीतर्फ आकर्षित हुँदै गएको डोल्पाका सरोकारवालाको भनाइ छ। उनीहरूले वैदेशिक रोजगारीलाई सुरक्षित र व्यवस्थित बनाउनुपर्नेमा जोड दिएका छन्।


नागरिक समाज डोल्पाका अध्यक्ष शेर बहादुर बूढाले सकेसम्म स्वदेशमै रोजगारी खोज्नुपर्ने र विदेश जानैपरे जानेर–बुझेर, कानुनी प्रक्रियामार्फत मात्र जानुपर्ने सुझाव दिए ।

डोल्पाका सहायक प्रमुख जिल्ला अधिकारी रमेश पौडेलले पछिल्लो समय डोल्पा देखि पनि वैदेशिक रोजगारीमा जानेको संख्या बढ्दै गएको उल्लेख गर्दै राम्रोसँग सबै जानकारी लिएर मात्र वैदेशिक रोजगारीमा जानुपर्ने बताएका छन् ।
उनले डोल्पामा वैदेशिक रोजगारीका जानको लागि पासपोर्ट बनाउनेको संख्या पनि जिल्लामा उल्लेखनीय रुपमा वृद्धि भइरहेको बताए।
कर्णाली प्रदेश सुरक्षित आप्रवासन कार्यक्रम (सामी) को तथ्यांकअनुसार आर्थिक वर्ष २०८१/८२ मा कर्णाली प्रदेशका १० जिल्लाबाट कुल २८ हजार ४९ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएको र २६४ जनाको मृत्यु समेत भएको छ ।
प्रदेशका अन्य जिल्लासँग तुलना गर्दा डोल्पा, मुगु र हुम्लाजस्ता दुर्गम हिमाली जिल्लाबाट पनि वैदेशिक रोजगारीमा जानेको संख्या निरन्तर बढ्दै गएको देखिन्छ। डोल्पापछि मुगुबाट ६८६ र हुम्लाबाट ६०८ जनाले श्रम स्वीकृति लिएका छन्।
तथ्यांकअनुसार कर्णाली प्रदेशका १० जिल्ला मध्य सबैभन्दा बढी सल्यानबाट ७ हजार ५८७ जना (६,९६७ पुरुष र ६२० महिला) ले श्रम स्वीकृति लिएका छन्। त्यसैगरी सुर्खेतबाट ६ हजार ३८७, दैलेखबाट ४ हजार २८८, रुकुम पश्चिमबाट २ हजार ८५९, जाजरकोटबाट २ हजार ५१८, जुम्लाबाट १ हजार २५५ र कालिकोटबाट १ हजार २५ जनाले श्रम स्वीकृति लिएका छन्।
जनहितमा जारी सन्देश

















