माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा अब दुई दिनभित्र सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले नतिजा प्रकाशनको अन्तिम तयारी तीव्र रूपमा अघि बढाएको जनाएको छ ।
परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार उत्तरपुस्तिकाको विवरण इन्ट्री गर्ने काम सम्पन्न भइसकेको छ भने हाल त्रुटि नहोस् भन्ने उद्देश्यले रुजु गर्ने काम भइरहेको छ ।


“नतिजा सार्वजनिकको नजिक आइपुगेका छौँ । पर्सिसम्म आउँछ । आइटीले काम गरिरहेको छ,” उनले भने, “त्रुटि नहुने गरी नतिजा सार्वजनिक गर्छौं ।”
यसपटक परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गरिएको कारण विगतको तुलनामा नतिजा छिटो सार्वजनिक गर्न लागिएको बोर्डले जनाएको छ । “शिक्षक साथीहरूको राम्रो सहभागिता रह्यो । परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण भयो । रणनीति परिवर्तन हुँदा नतिजा छिटो सार्वजनिक गर्न लागेका हौँ,” अधिकारीले बताए ।
आइटी सम्बन्धी काम पूरा भएपछि बोर्ड बैठक बोलाइने र बैठकबाट अनुमोदन भएपछि नतिजा सार्वजनिक गरिने तयारी रहेको छ ।

यस वर्षको एसईई परीक्षा गत चैत १९ गतेदेखि २९ गतेसम्म सञ्चालन भएको थियो । परीक्षाका लागि कुल ५ लाख १२ हजार ४२१ जना विद्यार्थीले आवेदन दिएका थिए । जसमध्ये नियमिततर्फ ४ लाख ४१ हजार ५६६ जना र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जना विद्यार्थी सहभागी भएका थिए ।
परीक्षार्थीमध्ये २ लाख ५७ हजार ६१३ छात्रा, २ लाख ५४ हजार ८०१ छात्र तथा अन्य ७ जना रहेका छन् ।











