सुर्खेत। कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले भाषा संरक्षणका लागि प्रदेश सरकार क्रियाशील भएको दावी गरेका छन्। भाषा आयोगद्वारा बिहीबार सुर्खेतमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले प्रदेश सरकारले सक्रियतापूर्वक कामहरू गरिरहेको बताएका हुन्।



सरकारी कामकाजको भाषाका रूपमा कार्य गर्न भाषा आयोगले मगर भाषालाई सिफारिस गरेको थियो। यो सँगै कर्णाली प्रदेशमा बोलिने खस भाषा यहाँको प्रमुख भाषा भएको दावी गरिन्छ। सोही अनुरुप खास भाषा र मगर भाषाको शब्दकोश प्रकाशन गरिएको मन्त्री भण्डारीले जानकारी दिए।
भाषाहरूलाई संरक्षण र कार्यन्वयनमा लिनुका साथै संस्थागत रुपमै विकास गर्न कर्णाली प्रज्ञा प्रतिष्ठान स्थापना तथा सञ्चालन गर्न लागिएको बताए। यसका लागि प्रदेश सभाबाट पारित भई ऐन समेत कार्यन्वयनमा आइसकेको छ।

कर्णालीका रैथाने भाषाहरु काइके, ढुट मगर, राउटे भाषा, थारु खाम्चि जस्ता भाषाहरूको खोज अनुसन्धान गर्न विश्वविद्यालय र भाषा आयोगसँग समन्वय सहकार्य भइरहेको बताए।

सरकारी कामकाजको भाषाको रुपमा काम गर्न मगर भाषा र खस भाषाको शब्दकोश प्रकाशन गरेको जानकारी गराउँदै खस भाषाको व्याकरण प्रकाशन गर्ने तयारी भइरहेको बताए।










