हेमराज भट्ट / बाँके । बाँकेको नेपालगञ्जमा सम्पन्न लुम्बिनी प्रदेश स्तरीय बाल भेला तथा बाल सञ्जाल गठन एवं अभिमुखीकरण कार्यक्रमले १५ बुँदे घोषणा पत्र जारी गरेको छ ।
घोषणा पत्रमार्फत लुम्बिनी प्रदेशलाई बालमैत्री प्रदेश घोषणा गर्न पहल गर्ने, बालबालिकाका क्षेत्रमा योजना तथा कार्यक्रम सुनिश्चित गर्ने, प्रदेशका सबै जिल्ला तथा पालिका तहमा बाल समिति तथा सञ्जाल गठन एवं पुनर्गठन गर्ने, बालबालिकामाथि हुने सबै प्रकारका विभेद अन्त्य गर्ने लगायत शिक्षा, स्वास्थ्य, सहभागिता र संरक्षणका सवालमा साझा प्रतिबद्धता व्यक्त गरिएको छ ।



भेलाको समापन कार्यक्रममा बोल्दै प्रदेश बाल अधिकार समितिका सदस्य सचिव सम्झना सुवेदीले सर्वसम्मत रूपमा चयन भएका प्रदेश स्तरीय बाल समूह सञ्जालका पदाधिकारीलाई बधाई दिँदै बालबालिकाको सर्वाङ्गीण विकासमा समितिले उत्कृष्ट काम गर्ने विश्वास व्यक्त गरिन् । उनले बालबालिकाका सवालमा सामाजिक विकास मन्त्रालय सधैं अग्रसर रहेको उल्लेख गर्दै बालअधिकार सबैको साझा विषय भएकाले साझा उद्देश्य प्राप्तिका लागि सबै मिलेर काम गर्नुपर्नेमा जोड दिइन् ।
यसैगरी बाल अधिकारका लागि नागरिक संस्थाहरूको सञ्जालका तर्फबाट बोल्दै हेमराज भट्ट ले नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा सफलताको शुभकामना व्यक्त गरे । उनले नेपालगञ्ज घोषणा पत्र कार्यान्वयनमा सबै पक्षको साझा प्रतिबद्धता रहने विश्वास व्यक्त गरे ।
नवनिर्वाचित अध्यक्ष महिमा खनालले सर्वसम्मत नेतृत्वको जिम्मेवारी दिएकोमा धन्यवाद दिँदै आगामी दुई वर्ष बालमैत्री प्रदेश घोषणाको अभियानलाई अघि बढाउने प्रतिबद्धता जनाइन् । उनले सरोकारवाला तथा बालबालिकाको अपेक्षा पूरा गर्न सबैसँग सहकार्य गरेर काम गर्ने बताइन् ।
कार्यक्रममा योजना आयोगका सदस्य शान्ता भण्डारी, सामाजिक विकास डिभिजन कार्यालय नेपालगञ्जका प्रमुख ऋषिराज शर्मा, महिला विकास निरीक्षक कमला ज्ञवाली, पिस नेपाल का अध्यक्ष मणि प्रसाद गैह्रे लगायतको सहभागिता रहेको थियो ।
सामाजिक विकास मन्त्रालय लुम्बिनी प्रदेशको आयोजना तथा सेभ द चिल्ड्रेन इन्टरनेशनल, पिस नेपाल र बाल अधिकारका लागि नागरिक संस्थाहरूको सञ्जाल लुम्बिनी प्रदेशको सहजीकरणमा कार्यक्रम सम्पन्न भएको हो । जेठ ९ गतेदेखि सुरु भएको भेलाको उद्घाटन लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिना ले गरेका थिए । कार्यक्रममा लुम्बिनी प्रदेशका १२ जिल्लाका बालबालिका र अभिभावकहरूको सहभागिता रहेको थियो ।
१३ सदस्यीय प्रदेश बाल समूह सञ्जाल गठन
भेलाले सर्वसम्मत रूपमा १३ सदस्यीय प्रदेश बाल समूह सञ्जाल गठन गरेको छ ।
सञ्जालको अध्यक्षमा रुपन्देहीकी महिमा खनाल चयन भएकी छन् । उपाध्यक्षमा रुकुमपूर्वका शक्ति बि.क., सचिवमा नवलपरासीका दिपेश न्यौपाने, सहसचिवमा अर्घाखाँचीका आशिष घिमिरे चयन भएका छन् ।
त्यसैगरी सदस्यहरूमा रोल्पाकी परिसा आचार्य, कपिलवस्तुकी नाइसा अधिकारी, दाङकी आयुषा चौधरी, बाँकेका अरमान शेष, बर्दियाका लिजन थारु, कपिलवस्तुका रिन्क नटुवा, गुल्मीका प्रयास पाण्डे र पाल्पाकी अन्जु वयम्बु रहेका छन् ।
नवनिर्वाचित पदाधिकारीहरूलाई अबिर, खादा तथा विजयी प्रमाणपत्र प्रदान गरिएको थियो ।
यस्तो छ घोषणा पत्र











