रुकुमपश्चिमको चौरजहारी क्षेत्रमा खानेपानीको समस्या चर्किँदै गएको छ । सुक्खायाम सुरु भएसँगै देखिएको पानी अभावका कारण झण्डै ७ हजार नागरिक प्रत्यक्ष प्रभावित भएका छन् ।
रुकुमपश्चिमबाट निर्वाचित नेकपा सांसद गोपाल शर्माले सोमबार प्रतिनिधिसभा बैठकमा उक्त समस्या उठाउँदै सरकारको ध्यानाकर्षण गराएका हुन् ।


प्रतिनिधिसभामा बोल्दै उनले भेरी नदीको सतह लगातार गहिरिँदै जाँदा खानेपानी आयोजनाअन्तर्गत निर्माण गरिएका वेल र सबवेलमा पानी जम्मा हुन छाडेको बताए । यही कारण चौरजहारी क्षेत्रमा खानेपानी आपूर्तिमा समस्या उत्पन्न भएको उनको भनाइ थियो ।
उनका अनुसार समस्या समाधानका लागि नेपाल सरकारले चालु आर्थिक वर्षमा तीन करोड रुपैयाँ बजेट विनियोजन गरेको भए पनि संघीय खानेपानी आयोजना कार्यालय नेपालगञ्जले हालसम्म कुनै काम अघि नबढाएको छ ।
“विनियोजित रकमसमेत उपयोग नगरी आर्थिक वर्ष बिताउन लागिएको अवस्था छ,” सांसद शर्माले बैठकमा भने, “यसले सरकार जनताको आधारभूत समस्या समाधानप्रति गम्भीर नभएको देखाउँछ ।”
सांसद शर्माले चौरजहारीसहित खानेपानी अभाव झेलिरहेका क्षेत्रमा तत्काल दीर्घकालीन समाधानको पहल गर्न सरकारसँग माग गरेका छन् ।










